Sunday, September 20th, 2020
विदेशमा आज

विदेशमा आज

– भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।

– अस्ट्रेलियाको भिक्टोरिया राज्यमा करिब दुई महिनाअघि देखिएको कोरोना भाइरस (कोभिड–१९) को ‘दोस्रो लहर’ समेत नियन्त्रणमा आएको छ । ६ राज्य तथा दुई टेरिटोरी रहेको अस्ट्रेलियाले करिब तीन महिनाअघि नै कोभिड–१९ लाई नियन्त्रणमा लिइसकेको थियो । तर होटल क्वारेन्टाइन प्रणालीमा भएको असावधानीका कारण भिक्टोरियाले दोस्रो लहरको संक्रमणको सामना गर्नुपर्यो ।

– रुसका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पतालका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम श्वासप्रश्वास यन्त्र हटाइएको छ । उनी हाल अस्पतालको शय्याबाट उठेर सामान्य हिँडडुल गर्न थालेको बताइएको छ ।

– जापानको संसद्ले योसिहिडे सुगालाई प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन् । सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।

– अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

– इजरायलले संयुक्त अरब इमिरेट्स यूएई र बहराइनसँग सम्बन्ध सामान्य गर्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । ह्वाइट हाउसमा तीनवटै देशकाबीचमा हस्ताक्षर भएको हो । यो सम्झौतापछि अमेरिकाले नयाँ मध्यपूर्वको सुरुवात भएको प्रतिक्रिया दिएको छ ।

– चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नोभेम्बरसम्म चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि तयार हुने बताएको छ । अहिले कोरोना भाइरसविरुद्धको चारओटा खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा छ । जसमध्ये तीनओटा खोप गत जुलाईमा ल्याइएको आपतकालीन प्रयोगको कार्यक्रम अनुसार अहिले आवश्यक कर्मचारीहरुलाई दिइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com