Wednesday, October 28th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।

– गत सोमबार राति करिब ९ बजे क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएको थियो ।

– नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

– हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् । धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको जनाइएको छ ।

– रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।

– कैदीबन्दीलाई कोचाकोच राखिएका कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ। देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी रहेको राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले देखाएको छ। मुलुकभरका ७० वटा जेलमा २४ हजार १ सय ६३ कैदीबन्दी कोचाकोच रहेको भेटिएको छ।

– विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे ।

– कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एकरएकजना गरी चार जनाको मृत्यु भएको हो । वीपी प्रतिष्ठानमा मंगलबार राति मोरङ बेलबारी नगरपालिका– १० का ३७ वर्षीय पुरुष र इटहरी उपमहानगरपालिका– ६ सुनसरीकी ६० वर्षीय महिलाको मृत्यु भएको हो । विराट मेडिकल कलेजमा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित ६० वर्षीय पुरुषको मंगलबार राति करिब १२ बजे मृत्यु भएको हो । त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मंगलबार साँझ उपचारका क्रममा ४९ वर्षीया महिलाको मृत्यु भएको हो ।

– धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।

– पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट-२ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको हो ।

– तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु एकै घरका बाबु र दुई छोरा हुन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

– मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा समस्या हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको अस्पताल सञ्चालकहरु बताउँछन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजजस्ता ठूला अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू बेड भरिन थालेपछि अब गम्भीर खालका संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com