Wednesday, October 28th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण दसैंअघि हुने सम्भावना लगभग टरेको छ । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको छ ।

– कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

– सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

– संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको दुई वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । संघीय संसदका दुवै सदनबाट पारित भएको आवासको अधिकारसम्बन्धी ऐन, २०७५ राष्ट्रपति भण्डारीले विसं २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् ।

– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताद्वय बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरू यतिबेला प्रदेश २ का कार्यक्रममा व्यस्त छन् । बढ्दो कोरोना महामारीबीच पनि वैकल्पिक राजनीतिक शक्तिको नारा दिँदै उनीहरूले विभिन्न जिल्लामा पार्टी प्रवेशका कार्यक्रम गरिरहेका छन् ।

– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दर्जन बढी कर्मचारी कोरोना संक्रमित पाइएका छन् । मन्त्रालय स्रोतका अनुसार सचिव सूर्यप्रसाद गौतम सहित १६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

– लोकसेवा आयोगले ठूलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। आयोगले सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो।

– सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। राजगढ गाउँपालिका–६ का ५९ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको निधन भएको छ। नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनअघि मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

– रामेछाप जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीसहित एकै दिन १७ जनामा कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com