Wednesday, October 28th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने बताएका छन् । बुधबार उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्ट, विभिन्न मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरुसँग नाकाको अवलोकन गरेपछि मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

– ग्राहक पहिचान विवरण (केवाईसी) व्यवस्थापनका लागि सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले निजी कम्पनी भित्र्याउन नपाउने भएको छ । सीडीएससीको केन्द्रीकृत ग्राहक पहिचान विवरण (केवाईसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिकाको मस्यौदामा रहेको प्रावधान हटेपछि उक्त बाटो बन्द भएको हो ।

– मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नु पर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कात्तिक ७ गतेभित्र विदेशी च्यानलहरु क्लिन फिड भइसक्नुपर्ने भन्दै क्लिन फिड प्रशारणको म्याद थप्न अस्वीकार गरेको थियो ।

– भूकम्प प्रभावित ११ जिल्लाका पालिका कार्यालय, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था र विद्यालयले ब्रोडब्याण्ड इन्टरनेटको महसुल आफैले तिर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको पैसा प्रयोग गरेर भूकम्प प्रभावित ११ जिल्ला नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीका इन्टरनेट सेवा नपुगेका पालिका, सामुदायिक स्वास्थ्य संस्थाहरु तथा सामुदायिक माध्यमिक विद्यालयहरुमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

– राष्ट्रिय उपभोगको २० प्रतिशत उपभोग दसैंतिहारमा हुने गर्छ। उपभोग्य वस्तुको व्यापक प्रयोग गरिने भएकाले दसैंतिहार अवधिमा अर्थतन्त्र पनि उपभोगमै आधारित हुन्छ। आर्थिक सर्वेक्षण २०७६र७७ अनुसार चालू आर्थिक वर्ष नेपालको वार्षिक उपभोग ३० खर्ब ८५ अर्ब रुपैयाँ हुने अनुमान छ। यसअनुसार दसैंतिहारमा ६ खर्ब १७ अर्ब रुपैयाँको उपभोग हुनुपर्ने हो। तर, आर्थिक सर्वेक्षण तयार गर्दा र अहिले परिस्थिति फरक भएकाले उपभोग अझै घट्ने अनुमान छ। गत आर्थिक वर्ष दसैंतिहारमा उपभोग ५ खर्ब ६० रुपैयाँ थियो।

– सुनको भाउ आज घटबढ भएको छैन । सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

– बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।

– लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो ।

– चीन जोड्ने उत्तरी नाका तातोपानीको लार्चामा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बुधबार भोटेकोसी गाउँपालिकाको लार्चास्थित बीओपीको उदघाट्न गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com