Wednesday, October 28th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन् ।

– ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

– बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं। २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो ।

– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नं। ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

– प्रहरीले बागलुङको बुङखानीबाट ११ नाल भरुवा बन्दुकसहित १० जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका–२ बुङखानी बस्ने ६४ वर्षीय भिमबहादुर कामी, ४१ वर्षीय सुरेश रसाइली, २९ वर्षीय मोतीप्रसाद रसाइली, ४६ वर्षीय धनबहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाइली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जालबहादुर छन्त्याल र ६० वर्षीय भानबहादुर रसाइली रहेका छन् ।

– कोभिड–१९ संक्रमणको दरमा तत्काल क्रमिक रूपमा सुधार नभए काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा बेड अभाव हुने देखिएको छ । अस्पतालमा भर्ना हुने र डिस्चार्ज हुने दरमा सन्तुलन ल्याएर मात्र बेड पाउने अवस्था आउन सक्छ ।

– सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

– रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

– बागलुङ जिल्लामा बिहीबार बिहानै हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकले जानकारी दिए। योसँगै बागलुङमा संक्रमित संख्या ५ सय ८५ पुगेको छ।

– कोरोना संक्रमण पुष्टि भएका बनेपाका २ जनाको मृत्यु भएको छ । एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । त्यस्तै मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ । बुधबार धुलिखेल अस्पताल गएका उनी डायलासिसका लागि समय लिएर पीसीआर परीक्षण गरेर घर फर्किएका थिए । उनको घरमै मृत्यु भएको हो ।

– पर्साको ठोरीबाट एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।

– काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com