Wednesday, October 28th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

– बुढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईले सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिनका लागि आयोग गठन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाले आरोपको खण्डन गर्दै प्रमाण भएमा सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईको प्रतिक्रिया आएको हो ।

– जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।

– पार्टीभित्र सहमति नजुटाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीले पार्टी नेताबीच सहमति नजुटाएको असन्तुष्ट समूहका नेताहरुले बताएका छन् ।

– दिवंगत सांसद सानु पहाडीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

– ११ स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले करिब १२ करोड मूल्य बराबरको सवारी हस्तान्त्रण गरेको छ । बिहीबार मुख्यमन्त्री शेरधन राईले केन्द्र सञ्चालन हुने पालिकाकालाई ११ करोड ९५ लाख मूल्य बराबरका ११ वटा दमकल र ११ वटा प्रहरी भ्यान हस्तान्त्रण गरेका हुन् ।

– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उनको चेतावनी छ । प्रधानमन्त्रीले चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु भनेको र त्यो चुनौती सामना गर्न आफू सक्षम छु भन्ने विश्वासका साथ आएको उनले बताए । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने बताए ।

– निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो ।

– नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने श्रेष्ठको भनाइ छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com