Wednesday, October 28th, 2020
विदेशमा आज

विदेशमा आज

– कोरोना भाइरुस (कोभिड-१९) विरुद्धको खोप निर्माणको लागि अन्तर्राष्ट्रिय समुदायको बीचमा हुने बलियो सहकार्यले विश्व अर्थतन्त्रको सुधार पनि छिट्टै हुने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले बताएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएभाले बिहीबार यस किसिमको सहकार्यले सन् २०२५ सम्म विश्वव्यापी आम्दानी ९० खर्ब डलर थपिने बताएकी हुन् ।

– विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको जनाइएको छ । जसमध्ये दुई करोड ९३ लाख निको भएका छन् । अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको जनाइएको छ ।

– मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो ।

– फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बताइएको छ ।

– मेक्सिकोका पूर्व रक्षामन्त्री साल्भाडोर सीन्फुगोस अमेरिकामा समातिएका छन् । बिहीबार लस एन्जलस विमानस्थलमा उनी पक्राउ परेको मेक्सिकोका विदेशमन्त्रीले बताएका छन् । साल्भाडोर समातिनुको कारण भने खुलाइएको छैन । साथै उनी लस एन्जलसदेखि अन्यत्र जाँदा वा त्यहाँ पुग्दा समातिएको हो केही खुलाइएको छैन ।

– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको छ । गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

– अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्याले म्याकएननीको ट्वीटर एकाउन्ट ट्वीटरले बन्द गरिदिएको छ । डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका छोरामाथि भ्रष्टाचार आरोपको समाचार शेयर गरेपछि उनको ट्वीटर एकाउन्ट ट्वीटरले लक गरिदिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यसबारे बताएका हुन् । न्युयोर्क पोस्टमा प्रकाशित जो बाइडेनका छोरा हन्टर बाइडेनको भ्रष्टाचार सम्बन्धी समाचार म्याकएननीले शेयर गरेपछि ट्वीटर बन्द गरिएको दावी गरिएको हो ।

– अमेरिकाले तिब्बतका लागि एक वरिष्ठ मानव अधिकार दूत नियुक्त गरेसँगै अमेरिका–चीनबीचको विवाद झनै बढेको छ । बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रोबर्ट डेस्ट्रोलाई तिब्बतको विशेष संयोजकको रुपमा नियुक्त गरेका हुन् । डेस्ट्रोले चीन र दलाई लामाको बीचमा वार्ताको प्रयास गर्ने, तिब्बतको धार्मिक, सांस्कृतिक र भाषिक पहिचानको संरक्षणको प्रयास गर्ने पोम्पेओले बताएका छन् । साथै उनले तिब्बतका मानिसहरुको मानव अधिकारको रक्षाको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पोम्पेओको विश्वास छ ।

– बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com