Wednesday, October 28th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

– कोरोनाले बिहीबार राति गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ ।

– वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा प्रशासनले छापामारी गरेको छ । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले छापामारी गरेको हो । बिहीबार राति करिब पौने ९ बजेको समयमा गरिएको छापामारीको क्रममा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो ।

– सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका-२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

– नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सनले जानकारी दिए ।

– विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।

– महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

– नगरपालिकामा एकैदिन ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि धादिङको निलकण्ठ नगरपालिकाको सेवा बन्द गरिएको छ । कर्मचारी र जनप्रतिनिधिलाई नै कोरोना देखिएपछि तत्कालका लागि नगरपालिकाबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

– नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीसँग रकम असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाडोदेवी घर भई काठमाडौंको बानियाटार बस्ने गोविन्द खड्का रहेका छन् । खड्काले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाक प्रयोग गरी काठमाडौं उपत्यकाका व्यवसायीलाई प्रभाव पार्दै रकम असुली गर्ने गरेको प्रहरीको भनाइ छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com