Wednesday, October 28th, 2020
विदेशमा आज

विदेशमा आज

– कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँगको सहकार्यलाई अगाडि बढाएको छ । कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरुसँग सहकार्य गर्दै गएको बताएका हुन् ।

– बेलायती प्रधानमन्त्रीको कार्यालयले ब्रेक्जिटपछि युरोपेली संघसँग हुने व्यापारसम्बन्धी सम्झौताका लागि जारी वार्ता ‘सकिएको’ जनाएको छ । प्रधानमन्त्री कार्यालयले साझेदारीबारे विस्तृत कानुनी मस्यौदा छलफल गर्न युरोपेली संघ तयार नहुँदासम्म वार्ता जारी राख्नुको कुनै औचित्य नहुने जनाएको हो ।

– प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डमा गरिएको प्रदर्शन चर्किंदै गएको छ । लगातार चौथो दिन शनिबार पनि राजधानी बैंककमा सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबारका प्रदर्शन शान्तिपूर्ण रहेका जनाइएको छ ।

– न्युजिल्यान्डमा शनिबार भएको संसदीय चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरेकी छन् । प्रारम्भिक नतिजाअनुसार आर्डर्नको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिशत, नेसनलले २८ प्रतिशत मत पाएका छन् भने अन्य मत ग्रिन, न्युजिल्यान्ड फस्टलगायत साना दलले बाँडेका छन् ।

– अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् । अर्मेनियाले लगाएको यो आरोपबारे अजरबैजानको धारणा सार्वजनिक भइसकेको छैन । २१ दिनसम्म चलेको लडाइँपछि अर्मेनिया र अजरबैजान दोस्रो पटक विवादित नागोर्नो काराबाख क्षेत्रमा ‘मानवीय युद्धविराम’का लागि तयार भएका थिए । दुवै देशबीच शनिबार मध्यरातिदेखि युद्धविराम लागु हुने बताएका थिए ।

– इरानमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लकडाउन लम्ब्याउने भएको छ । शनिबार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेसँगै इरानले राजधानी सहर तेहरानमा लगाइएको लकडाउन तेस्रो सातामा लम्ब्याउने निर्णय भएको हो । विद्यालय, रेष्टुरेन्ट, पसल, रेष्टुरेन्ट र अन्य सार्वजनिक संस्थाहरुमा कोरोना संक्रमण बढी देखिएसँगै यी क्षेत्रहरु अक्टोबर ३ यता बन्द छन् । यो प्रतिबन्ध कम्तीमा आगामी शुक्रबारसम्मका लागि लम्ब्याइने तेहरान प्रान्तका गभर्नर अनोउशिरवन मोहसेनी बन्डपीले बताएका हुन् ।

– थाइल्याण्डकी रानीविरुद्ध हिंसा गरेको भन्दै दुई जना अभियन्ताविरुद्ध मुद्दा चलाइएको छ । राजतन्त्रविरुद्ध भएको विशाल प्रदर्शनको क्रममा आपतकाल घोषणा उल्लंघन गरेको र रानीविरुद्ध हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको हो । अभियन्ता एकाचाइ हंकंग्वान र पाओथोङ बुंकुएनमलाई शुक्रबार पक्राउ गरी मुद्दा चलाइएको हो । दशकौँदेखि प्रयोग नगरिएको कानुन प्रयोग गरी रानी वा उनको स्वतन्त्रताविरद्ध हिंसात्मक गतिविधि गरेको अभियोग उनीहरुमाथि लगाइएको छ ।

– भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट एक हजार ३३ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७४ लाख ९४ हजार ५५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६१ हजार ८७१ नयाँ संक्रमित भेटिएका हुन् ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वभर प्रदूषण फैलाउन चीन, रुस र भारत जिम्मेवार भएको आरोप लगाएका छन् । अमेरिका भने पर्यावरण रक्षामा अगाडि रहेको दावी गरे । साथै उर्जा क्षेत्रमा पनि अमेरिका आत्मनिर्भर रहेको ट्रम्पको भनाइ थियो । नर्थ क्यारोलिनामा चुनावी र्यालीको क्रममा ट्रम्पले यसो भनेका हुन् । राष्ट्रपति पदमा रहेर चार वर्षको कार्यकाल पूरा गर्नै लागेका ट्रम्पले आफ्नो कार्यकालमा देशले उपलब्धि हासिल गरेको पनि दावी गरे ।

– चीनले सीमाक्षेत्रमा पर्ने नेपाली जिल्ला हुम्लास्थित नेपालको भूमि मिचेर भवन निर्माण नगरेको दावी गरेको छ । चिनियाँ अधिकारीले आफ्नै भूभागमा भवन निर्माण गरेको दावी गरेका हुन् । हालै चिनियाँ पक्षबाट निर्माण भएका भवन रहेको स्थान चीनकै बुराङ्ग काउन्टीको अलिमा रहेको उनीहरुको दावी छ । तिब्बतस्थित बुराङ काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग हालै दिएको अन्तर्वार्तामा यस्तो दावी गरिएको हो ।

– अमेरिकामा सन् १९५३ पछि पहिलोपटक एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार लिसा मन्टगमरी नाम गरेकी उक्त महिलाले सन् २००४ मा उक गर्भवती महिलाको हत्या गरेकी थिइन् र उनको पेट चिरेर बच्चा झिकी उक्त बच्चाको अपहरण गरेकी थिइन् । उनी मिसौरीकी बासिन्दा हुन् । उनलाई इन्डियानामा एक प्राणघातक सुई लगाएर आगामी डिसेम्बर ८ मा मृत्युदण्ड दिइने बताइएको छ । मन्टगमरीलाई सन् २००७ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com