Wednesday, October 28th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा चार वटा बैंकले लगानी गर्ने भएका छन् । नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो ।

– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा राष्ट्र बैंकमा बुझाएको अपरिष्कृत तथ्यांकको विवरण हो । कोभिड–१९ ले सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा पनि झन्डै सवा अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको हो ।

– बिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् । शनिबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् ।

– प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिने भएको छ । शनिबार साझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच यि दुई बैंकबीच प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

– बालाजुस्थित दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजनामा मौज्दात बटरमा आइस क्रिस्टल र र बिक्री भइरहेका आधा लिटर प्याकका घिउमा सेतो ठोस पदार्थ फेला परेको छ । घिउमा भेटिएको सेतो ठोस पदार्थ जतिसुकै बढी तापक्रममा पनि नगलेको उजुरी परेको छ ।

– औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशकले बताए ।

– हुम्लाको सदरमुकाम सिमीकोटमा रहेको नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ ।

– अपर चमेलिया जलविद्युत् आयोजनाको औपचारिक निर्माण सुरु भएको छ। दार्चुलाको मार्मा गाउँपालिका-२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपि पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले शनिबार शिलान्यास गरे। यो आयोजना ४० मेगावाट क्षमताको हो। उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो।

– दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन्। यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ। विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा छ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन्। आर्थिक वर्ष २०७७/०७८ का लागि जुम्लाको चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन्।

– अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ताले बताए ।

– सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आजपनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

– बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको बीओपीको उद्घाटन भएको छ । जिल्लामा हालसम्म ६ वटा बीओपी स्थापना भइसकेका छन् । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बलका बाहिनीपति डीआईजी किशोर प्रधानले मधुवन नगरपालिका—३ भगरैयामा बीओपी को उद्घाटन गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com