Wednesday, October 28th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण भएर रिलिज हुन्छ या हुँदैन भन्ने चर्चा चलिरहेको समयमा यसको दोश्रो टिजर सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक दिपेश सापकोटाले सरकारले चलचित्र हल खुलाउने अनुमती दिएसँगै चलचित्र रिलिज गर्ने जानकारी दिएका छन् । यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका छ । दोश्रो टिजरमा यी दुई कलाकारलाई देखाइएको छ ।

– नवदुर्गा पौडेलले ‘यसपालीको दशैं’ गीत बजारमा ल्याएका छन्। पौडेलको शब्द, बुद्धि श्रेष्ठको लयमा रहेको गीतमा कल्पना दाहाल र बुद्धि श्रेष्ठले स्वर दिएका छन्। भिडियोमा यादव देवकोटा (सरापे), सुशीला निरौला (बिम्ली), कल्पना दाहाल, बुद्धि श्रेष्ठ, नवदुर्गा पौडेललगाएतको अभिनय रहेको छ। कोरोना महामारी तीब्र गतिमा फैलिरहेकाले आफ्नै घरमा मात्र टीका लगाउन गीतमार्फत आग्रह गरिएको छ।

– हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको चर्चित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को मञ्चबाट पहिलो प्रतिस्पर्धी बाहिरिएकी छिन् । मैथिली कलाकार पूजा ठाकुर र उनको कोरियोग्राफर पार्टनर सरोज मोक्तान शोबाट बाहिरिएका हुन् । दर्शकको भोट र निर्णायकको अंकको आधारमा बटम ३ मा पूजा ठाकुर र सरोज मोक्तान, हरि खड्का र यूमी बलामी, प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन परेका थिए । यी तिन मध्ये सवैभन्दा कम भोट प्राप्त गरेका पूजा ठाकुर र सरोज मोक्तान बाहिरिएका हुन् ।

– म्युजिक भिडियो र फिल्ममा जोडी जमाएका गायक प्रकाश सपूत र अभिनत्री केकी अधिकारी पुनः एक साथ देखिएका छन्। तर यसपटक उनीहरू अलि फरक भूमिकामा एकसाथ देखिएका हुन्। ‘अनार चामल’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका केकी र प्रकाशले मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्रान्डसँग भने जोडिनु राम्रो नहुने धारणा व्यक्त गरेका छन्। एक वर्षका लागि ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी केकीले चामल मानिसको जीवनमा पहिलो प्राथमिकतामा पर्ने भएकाले आफू योसँग जोडिएको बताएकी छन्।

– गायिका मुन प्रसाँइको स्वरमा समावेश ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा पुरुषोत्तम प्रधानको शब्द तथा संगीत छ । कमल प्रसाँइको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा मुन आफैले मोडलिङ गरेकी छिन् ।

– कोरोना संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ। ८३ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। मास्के विगत सात वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। विसं २०२१ मा भारतको पुणेस्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ छायांकन गरेका थिए। उनी फिचर फिल्म खिच्ने पहिलो नेपाली छायाँकार थिए।

– निर्देशक शम्भु धितालको निर्देशनमा ‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ । यो गीतमा शम्भु धिताल र मेलिना राइको स्वर, शम्भुकै शब्द तथा संगीत छ । भिडियोमा रमा थपलिया र शम्भु धिताललाई पनि देख्न सकिन्छ ।

– कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो । निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

– चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन फागुणबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैबाहिक परिवेश र सामाजिक परिस्थितीको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् । बीककै कथामा कलम खड्काले चलचित्र निर्माण गर्न लागेका हुन् ।

– गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम ‘सगुन’मा संग्रहित ‘वाचा बन्धन’गीतको भिडियो सार्वजनिक गरेकी छन्। यस गीतका गीतकार मुकेश राई हुन्। संगीतकार मन थुलुङले संगीतकार भरेका छन्। निर्देशक भूपेन्द्र तुम्बाहाङफेले निर्देशन गरेको भिडियोमा विश्व लिम्बू, मलाइका बस्नेत र सुजाता थुलुङ राईले अभियन गरेका छन्।

– नायिका साराअली खान र नायक वरुण धवनको मुख्य भूमिका रहेको चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । क्रिसमसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रको प्रचारमा भने नायिका साराअली खान सहभागी हुने छैनन् । सारा पछिल्लो समयमा ड्रग्सको मुद्दाका कारण आलोचित पनि बन्दै आएकी छिन् । एनसीबीले उनीसँग यो बिषयमा सोधपुछ पनि गरिसकेको छ । साराले आफूले ड्रग्सको सेवन नगरेको बताएकी थिइन् । अब, उनै सारा चलचित्रको प्रचारमा सहभागी नभएर मिडियासँग दुरी बनाउने तयारीमा छिन् ।

– बलिउड नायिका कंगना रनोटको विरुद्धमा एफआइआर दर्ता भएको छ । बलिउडमा हिन्दु र मुस्लिमविच विभाजन ल्याउन खोजेको आरोप उनलाई लागेको छ । साहिल असरफ अली सैयदको उजुरीपछि मुम्बइको बान्द्रा अदालतले पुलिसलाई कंगनाविरुद्ध एफआइआर दर्ता गर्न आदेश दिएको छ । उनकी बहिनी रंगोलीको विरुद्धमा पनि उजुरी दर्ता भएको छ । चार दिन अगाडि मात्र कर्नाटकमा उनी विरुद्ध एफआइआर दर्ता भएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com