Wednesday, October 28th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ । उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपीले बताए ।

– होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।

– कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् । आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी डेढदेखि दुई सय जना सहभागी छन् ।

– बिराटनगर र धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको हो । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर मृत्यु भएको हो । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

– रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान १२ नम्बर वडाको ठूलीबार्खुदेखि ९ नम्बर वडाको राडीतर्फ गइरहेको जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनासहित ६ जना घाइते भएका हुन् ।

– उदयपुर सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।

– कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपीले जानकारी दिए ।

– रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । असोज २५ गते स्वास्थ्यमा समस्या भई लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराएका बुटवल–३ गोलपार्कका ५५ वर्षीय पुरुष कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

– सुनसरीमा आइतबार बिहान कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरुमा एक जना धरान उपमहानगर–८ लाङ्घाली चोककी ८३ वर्षीया महिला र अर्का इटहरी उपमहानगर–१ का ७९ वर्षीय पुरुष रहेका छन् ।

– भेरी अस्पताल नेपालगन्जमा बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

– जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

– सप्तरी प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडानम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मा छन् ।

– जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।

– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका-१२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस आरोपमा प्रहरी हबल्दार र उनकी पत्नीलाई पक्राउ गरेको छ । चार लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हबल्दार शिवचन्द्र सहानी र उनकी पत्नी निर्मला केवट शुक्रबार पक्राउ परेको आयोगका प्रवक्ताले जानकारी दिए ।

– कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com