Wednesday, October 28th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् ।

– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा बोलाएर उहाँले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै दुई अध्यक्षबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गर्नुभएको हो । अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे बहस गर्ने र विवाद समाधानका लागि उचित निर्णय गरिने प्रधानमन्त्री ओलीलाई उदृत गर्दै एक नेताले बताउनुभएको छ ।

– नेकपाका सांसद भीम रावलले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह गरेका छन् । ट्विटरमार्फत् उनले संसद सचिवालयले सांसदको पारिश्रमिकका रूपमा जम्मा भएको रकमबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्नका लागि आफूले समर्थन जनाएको लेखेका छन् ।

– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता पाँच दिनदेखि रोकिएको छ । गएको २८ असोजमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि रोकिएको ओली–प्रचण्ड भेटवार्ता कहिले हुने भन्ने अन्योल नै छ ।

– जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लालको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिर्पोट पोजेटिभ आएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका थापाको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका हुन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि थापा अस्पताल भर्ना भएका हुन् ।

– पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको वडा दसैंको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । शनिबार सूचना सार्वजनिक गर्दै ज्ञानेन्द्रले असहजस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।

– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन्। हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन्।

– पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा। यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

– संविधान सभा सदस्य गौरी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट ओलीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com