Wednesday, January 27th, 2021
विदेशमा आज

विदेशमा आज

– ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन सत्तारूढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौं अधिवेशनले किमलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

– ट्विटरले कथित ‘क्यूएनएन कन्स्पिरेसी थिअरी’ सँग सम्बन्धित ७० हजारभन्दा बढी अकाउन्ट बन्द गरिदिएको छ । पछिल्ला दिनमा उक्त समूहमा विश्वास गर्नेहरुले अफवाह फैलाउँदै हिंसालाई प्रोत्साहन गरेकाले ट्विटरले ती अकाउन्ट बन्द गरेको जनाएको छ ।

– अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ। यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ।

– भारत र चीनबीचको विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ । गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई सोमबार सकुशल रिहा गरिदिएको जनाइएको छ ।

– भारतको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटलाई खोपको खरिदको अर्डर पठाएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटले सोमबार सरकारबाट अर्डर आएको पुष्टि गरेको हो ।

– चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो । डब्ल्यूएचओको टोलीले जनवरीको सुरुबाट चीन भ्रमण सुरु गर्ने योजना बनाएको थियो । तर, गत साता डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले भिसा नदिएको कारण टोलीका केही मानिसहरुले चीन भ्रमण गर्न नसकेको जानकारी दिएका थिए ।

– फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको फ्रान्सका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*