Wednesday, January 27th, 2021
विदेशमा आज

विदेशमा आज

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै सबैभन्दा बढी अभिव्यक्ति स्वतन्त्रतामा आक्रमण भएको बताएका छन् । साथै उनले गत हप्ता अमेरिकी संसद्मा आक्रमण हुनुभन्दा अघि गरेको सम्बोधन ‘पूर्ण रुपमा उपयुक्त’ भएको स्पष्टीकरणसमेत दिएका छन् ।

– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढी मृत्यु भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार कोरोनाका कारण अमेरिकामा ४ हजार १ सय ९७ जनाको मृत्यु भएको हो ।

– भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको कृषि कानुनलाई रोक लगाउने निर्णय गरेको छ । केन्द्र सरकारले ल्याएका तीन वटा कृषि कानुनविरुद्ध परेको रिटको सुनुवाइपछि प्रधानन्यायाधीश एसए बोब्डे, न्यायाधीशहरू एएस बोपना र भी रामासुब्रमण्यमको संयुक्त इजालसले आदेश नभएसम्मका लागि ती कानुनलाई निलम्बन गर्ने फैसला सुनाएको हो ।

– अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् र अन्य उत्पादनमाथि अतिरिक्त भन्सार शुल्क उठाउन थालेको छ । युरोपेली संघ ९ईयू०सँगको १६ वर्षको सहुलियतको विवाद नमिलेसँगै अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् तथा अन्य सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । युरोपेली विमान निर्माता एयरबसलाई सहुलियत दिएको विषयमा अमेरिकाले आपत्ति जनाउँदै आएको थियो । अमेरिकाले पनि घरेलु विमान निर्माता बोइङलाई सहुलियत दिँदै आएको छ ।

– रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्। नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

– उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले किम जोङ उनलाई पार्टीको महासचिवमा चयन गरेको छ । उत्तर कोरियाको सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार किमलाई सर्वसम्मतरुपमा पार्टीको महासचिवमा चयन गरिएको हो । किम जोङ उन यसअघि नै पार्टीको शीर्ष अधिकारी थिए । महासचिव वर्कर्स पार्टीको सबैभन्दा ठूलो पद हो । यसअघि किमका बाबु र हजुरबाले पनि यो पद पाएका थिए । यससँगै उत्तर कोरियामा किमको अधिकार पनि बढ्नेछ । सन् २०१६ पछि पहिलोपटक बसेको पार्टीको यस किसिमको बैठकले आइतबार किमलाई महासचिव बनाएको हो ।

– जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको जापानका अधिकारीहरुले जनाएका छन् ।सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो ।

– मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गर्नुभएको छ । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सङ्कटकालको घोषणा गरेको जनाइएको छ ।

– जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*