Wednesday, January 27th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका उद्योग-व्यवसायहरु मध्ये ५४ प्रतिशत सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा गरेको ‘फलोअप सर्वेक्षण’ ले कोरोनाका कारण समस्यामा परेका मध्ये ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको हो ।

– पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।

– डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न तयार गरिएको अध्ययन प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको पाँच महिनामा पनि कार्यान्वयन हुन सकेको छैन । बरु सम्बद्ध निकायले प्रक्रिया नथाल्दै विभिन्न उल्झन देखिएका छन् । प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाएको छ । दुवै निकायले कार्यान्वयनको लागि नीतिगत निर्णय लिन सकेका छैनन् ।

– ठेकेदार कम्पनीले डिजाइनअनुसारको पाइप निर्माण गर्न नसकेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको डिजाइनमा संशोधन हुने भएको छ । मुख्य सुरुङबाट टर्बाइनमा आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको साटोमा कंक्रिट राख्ने गरी डिजाइन संशोधन गर्न लागिएको हो ।

– नेपाल आयल निगमले गएको आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिवले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।

– नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनामा करिब एक दर्जन माग राख्दै पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका स्थानीय चौतर्फी टीकाटिप्पणी भएपछि पछि हटेका छन् । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा कुनै अवरोध नगर्ने र आफूहरूले राखेका माग आयोजनाले बिस्तारै सम्बोधन गर्दै जानुपर्ने माग अघि सारेको नगरपालिकाका मेयरले बताए ।

– सरकारले नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्ताको वर्गीकरण गर्ने भएको छ । लगानीकर्ताले नेपालमा भित्र्याउने लगानीका आधारमा वर्गीकरण गर्नेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा) – २०७७ मन्त्रिपरिषदले स्वीकृत गरेको हो । एक अर्ब भन्दामाथि लगानी गर्नेलाई अति विशिष्ट विदेशी लगानीकर्ता भनेर परिचयपत्र वितरण गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ । अव विदेशी लगानीकर्तालाई तीन भागमा वर्गीकरण गरेर परिचय पत्र दिन सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

– बर्दियाको राजापुर नगरपालिकास्थित खाद्य व्यवस्था व्यापार केन्द्रले गोदाम भरिएपछि आइतबारदेखि धान खरिद प्रक्रिया स्थगन गरेको छ । यस वर्ष व्यापार केन्द्रले ३८ हजार क्विन्टल मोटा र मकवानपुर धान खरिद गरिसकेको छ । गोदाममा गत वर्षकै १२ हजार क्विन्टल धान मौज्दात छ । गोदाम ५५ हजार क्विन्टल क्षमताको छ । धान कुटानीपछि गोदाममा राख्ने ठाउँ भएपछि पुनः धान खरिद गर्ने योजना रहेको केन्द्रका प्रमुखले बताए । यस वर्ष सरकारले मोटो धानको मूल्य २ हजार ७ सय ३५ रुपैयाँ तोकेको थियो । मकवानपुर धानको मूल्य २ हजार ८ सय २० रुपैयाँ तोकेको छ ।

– लामो समयदेखि ठप्प रहेको पर्यटन गतिविधि क्रमशः चलायमान हुने अवस्था छ । यसै क्रममा पर्वतारोहणमा समेत आरोहण अनुमति बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार आइतबारसम्म हिउँदे याममा हिमाल चढ्न कुल ९ टोलीले आरोहण अनुमति लिएका छन् ।

– कोरोना (कोभिड–१९) महामारी सुरु भएपछि धेरैजसो विकास आयोजनामा कामको गति सुस्ताएको छ । यसमा पनि चिनियाँ ठेकेदार, जनशक्ति र प्रविधिमा निर्भर आयोजनाहरु बढ्ता समस्यामा फसेका छन् । अन्य आयोजनाहरुमा सुस्त-सुस्त काम हुन थाले पनि चिनियाँ जनशक्ति र प्रविधिमा निर्भर आयोजनाहरु तत्कालै पुनरउत्थान हुन नसक्ने अवस्थामा देखिएका छन् । चिनियाँ प्राविधिक आएर विभिन्न आयोजनामा गर्नुपर्ने परामर्शका काम एक वर्षदेखि रोकिएको छ ।

– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो । अब लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशकले जानकारी दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*