Wednesday, January 27th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग गरिएको ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

– हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।

– तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा अस्ति सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविदले जानकारी दिनुभयो । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

– बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् । प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा इसाइलले रहिसको टाउकोमा लाठी प्रहार गरेका थिए ।

– काठमाडौंको चन्द्रगिरिबाट चोरीको मोटरसाइकल चढ्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित धादिङको गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र १८ वर्षीय आइतराज तामाङलाई नियन्त्रणमा लिएको हो ।

– कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुखले जानकारी दिए ।

– भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गरेको छ । बर्ड फ्लु भित्रिन नदिन सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

– डोटीको शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

– काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय जेनष सार्की रहेका छन् । अवैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ( हाब्रेको छाला) ओसार पसार तथा बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले दुवैजनालाई काठमाडौं महानगरपालिका-३ बसुन्धारा चोकबाट मंगलबार राति नियन्त्रणमा लिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*