Wednesday, March 3rd, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– पछिल्ला महिनामा विपन्न वर्गमा प्रवाह हुने कर्जा उल्लेख्य बढेको छ । लकडाउनका कारण चालु आर्थिक वर्षको दोस्रो महिनासम्म यस्तो कर्जा घटेको थियो । गत असोजपछि यस्तो कर्जा बढ्न थालेको हो । गत पुससम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा साढे २ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनासम्म प्रवाह भएको कर्जा हो यो ।

– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमले गुदेलमा फोरजी टावर सञ्चालन गरेसँगै शुक्रवारबाट दुर्गम क्षेत्र मानिएको महाकुलुङ फोरजीको पहुँचमा पुगेको हो ।

– भारतको गम्भीर आपत्तिपछि नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरेको छ । शुक्रबार सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने सीमा तोकेको हो । अब भारतीय ठूला सवारी साधनले एकपटकमा इन्धन ट्यांकीमा १०० सय लिटरभन्दा बढी इन्धन भर्न पाउने छैनन् । निगमले सीमा क्षेत्रका पम्पहरुबाट जर्किन, ग्यालिन तथा ड्रममा तेल भरेर बिक्री गर्न पनि रोक लगाएको छ ।

– बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरीत हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका कार्यकारी निर्देशकले जानकारी दिए ।

– नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७र७८ को सातौं महिना (साउन–माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो । चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो ।

– भारतले पाम आयल निकासीमा रोक लगाएपछि जोगबनी नाकाबाट भटमासको तेल निर्यात तेब्बर पुगेको पााइएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जोगबनीबाट ४ अर्ब ८५ करोड ४० लाख मूल्य बराबरको ३३ हजार २ सय ५३ टन भटमास तेल निकासी भएको छ ।

– वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।

– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) डकुमेन्ट बनाएर राय प्रतिक्रिया मागेको दुई महिना हुन लाग्यो । तर आयोजनाले अझै राय पाउन सकेको छैन । गत पुस १६ मा मार्गदर्शनका लागि पठाए पनि समयमै राय नपाउँदा आयोजना ढिलाइ हुने खतरा बढेको नेपाली सेनाले जनाएको छ ।

– सरकारले आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्न विज्ञसँग छलफल थालेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माण गर्न पूर्व अर्थसचिवसँग छलफल गरी सुझाव संकलन गरेको छ। सुझाव संकलनको क्रममा पूर्व अर्थसचिवले कोभिड—१९ महामारीको कारण अप्ठ्यारोमा पुगेको अर्थतन्त्रलाई पुनरुत्थान हुने गरी आगामी आर्थिक वर्षको बजेटलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। यसका साथै उनीहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार तथा क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरेका छन्।

– बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेको एमएसओभी र एमआईभीको प्रेसर टेस्ट सफल भएको छ। एक हप्ताभन्दा अघिदेखि एमएसओभी (ठाडो सुरुङबाट झरेको पानी ठोक्किने स्थान) र एमआईभी (६ ओटा टर्वाइनमा पानी बाँढिएर जाने स्थान) मा पानी पठाएर गरिएको प्रेसर टेस्ट सफल भएको हो। एमएसओभी र एमआईभीमा ८५० मिटरको हेडबाट पानी पठाएर गरिएको प्रेसर टेस्ट सफल भएकोे आयोजनाका प्रवक्ताले बताए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*