Wednesday, March 3rd, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् ।

– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

– जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको उनको भनाइ छ ।

– प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् ।

– नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचनको तयारीका लागि १ सय २० दिनको समय कानुनले नै तोकेको छ ।

– सरकारले दुई वर्षअघि गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द समूह प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार भएको छ । प्रतिनिधिसभा विघटनपछि रक्षात्मक बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।

– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने अडान दोहोर्याएका छन् । नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता (विघटन) को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।

– वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई टुंगो लगाउन बनाउन लागिएको मत विभाजन कार्यविधिलाई लिएर विवाद सुरु भएको छ । कार्यविधि मस्यौदा समितिले प्रतिवेदन तयार गरिसकेको र सभामुख सानुकुमार श्रेष्ठले बुझ्न नमानेको आरोप लगाइरहेको छ । सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव छिनोफानो गर्न मत विभाजन गर्नुपर्ने र आवश्यक कार्यविधि नबन्दा प्रदेशसभा बैठक बोलाउन समस्या परेको अभिव्यक्ति दिएसँगै प्रदेशको राजनीति थप तरंगित बनेको हो ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।

– पछिल्लो समय नेकपा (प्रचण्ड(माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । आफू वा आफ्नो दलबाट भन्दा प्रतिपक्षबाट प्रधानमन्त्री बनेमा जनतामा पनि उचित सन्देश जाने र अन्तरािष्ट्रय सम्बन्ध पनि राम्रो हुने प्रचण्डको विश्लेषण छ । संसद पुनस्थापनापछि आन्दोलनरत दलबाटै सरकारको नेतृत्व हुने प्रचण्डले बताए ।

– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् । नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए । नेकपाको दुई तिहाइ बहुमत प्राप्त सरकारले देशको सही नेतृत्व गर्न नसकेको उनको भनाइ थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*