Wednesday, March 3rd, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो ।

– जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटेल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरीका अनुसार महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति मृत फेला परेकी हुन् । मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-२ बस्ने समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ ।

– ललितपुर प्रहरीले ३० लाख नगदसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ । उनीहरुलाई ललितपुर महानगरपालिका–२६ स्थित अजय महर्जनको घरको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले ३५ जनाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

– धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामा पक्राउ परेका छन् । जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

– मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट स्कुटरमा रहेका उर्लाबारी नगरपालिका-८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको हो ।

– महोत्तरीमा एउटा ट्याक्टरमा करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको छ । औरही नगरपालिका वडा नम्बर ६ मा माटो अनलोड गर्ने क्रममा टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर ट्याक्टरका चालक स्थानीय २३ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।

– बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका–५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वर्षीय एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।

– दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दोलेखाले बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*