Wednesday, March 3rd, 2021
विदेशमा आज

विदेशमा आज

– कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।

– इरानले आफ्नो परमाणु संयन्त्रको निगरानी गर्न अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई तीन महिनाका लागि अनुमति दिएको छ । परमाणु हतियारको निगरानी गर्ने संयुक्त राष्ट्रसंघको संस्था अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले यो जानकारी दिएको हो । यद्यपि हतारमा गरिएको यस सम्झौताबाट एजेन्सीका अधिकारीहरुको केही अधिकार कटौती भएको छ । त्यसैले उनीहरुले आकस्मिक रुपमा निरीक्षण गर्न भने पाउने छैनन् ।

– अस्ट्रेलियाले कोरोना भाइरसविरद्धको खोप अभियान सुरु गरेको छ । दोस्रो विश्वयुद्धकी जीवित ८४ वर्षीया जेन मलेसियाकलाई भाइरसविरुद्धको फाइजर खोप दिएर आइतबार अभियानको सुरुवात गरिएको हो ।

– सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ ट्रु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो ।

– नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ ।

– कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रभावकारी देखिएसँगै इजरायलले लकडाउन हटाउन थालेको छ । आइतबारदेखि इजरायलमा बन्द रहेका पसल, लाइब्रेरी र संग्रहालयहरु खुल्न थालेका हुन् । यद्यपि अझै पनि भौतिक दुरी कायम राख्ने र मास्क लगाउनेजस्ता मापदण्ड भने कायम राखिएको छ । यसअघि इजरायलमा गरिएको अध्ययनले फाइजर र बायोएनटेकले विकास गरेको खोप संक्रमण नियन्त्रणको लागि ९५.८ प्रतिशत प्रभावकारी रहेको देखाएको थियो ।

– ग्रीसको राष्ट्रिय नाट्य निर्देशक समेत रहेका वरिष्ठ कलाकार बलात्कार मुद्दामा पक्राउ परेका छन् । मी टू अभियानकै श्रृंखलाको रुपमा बलात्कारको आरोप परेपछि उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पूर्व नाट्य निर्देशक दिमित्री लिग्नादीसलाई श्रृंखलावद्ध बलात्कार र अभद्र यौन आक्रमण गरेको आरोपपछि प्रहरीले पक्राउ गरेको हो ।

– बेलायतले आफ्नो मुलुकका सबै वयस्क नागरिकहरुलाई आगामी जुलाइको अन्तिमसम्मा खोप दिइसक्ने योजना बनाएको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो जानकारी दिएका हुन् । यसअघि बेलायतले मुलुकका एक करोड ५० लाख मानिसले कोरोना खोप लिइसकेको बताएको थियो । अप्रिल १५ सम्ममा ५० वर्षमाथिका सबैलाई कोरोना खोप दिने बेलायतको लक्ष्य छ । यसअघि बेलायतले मे महिनाको अन्तिमसम्ममा ५० वर्षभन्दा माथिको उमेरसमूहका मानिसलाई कोरोना खोप दिइसक्ने अपेक्षा गरेको थियो ।

– अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोसँग अर्को साता बैठक गर्ने भएका छन् । गत महिना पदभार सम्हालेपछि बाइडेनको यो विदेशी सरकार प्रमुखसँगको पहिलो औपचारिक बैठक हो । आगामी साता बाइडेन र ट्रुडोबीच भर्चुअल बैठक हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*