Wednesday, March 3rd, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

– प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्षले जानकारी दिए ।

– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ । प्रोफेसर डा। विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने छ ।

– बेलहिया–सुनौली नाकाबाट पर्यटक आवागमन ठप्प भएपछि विरोधमा आइतबार साँझ नेपाल र भारतका व्यवसायीले दशगजामा संयुक्त प्रदर्शन गरेका छन् । पर्यटक नआएपछि दुवै मुलुकका सीमावर्ती सहरको पर्यटनलगायत व्यवसाय ठप्प छ ।

– प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै आइतबार झाले जनता र संविधानलाई आधार बनाएर प्रदेशका लागि काम गर्ने बताए ।

– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।

– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा। कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् ।

– काभ्रेप्लाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको गाडी तोडफोड भएको हो।

– भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । यसरी अगाडि बढ्दा भौतिक तथा वित्तीय प्रगति अपेक्षा अनुसार हुने मुख्यमन्त्री शाहीको विश्वास थियो । तर, चालु आर्थिक वर्षको ६ महिना अवधिलाई हेर्दा कार्यसम्पादन करार सम्झौता कागजमै सीमित देखिएको छ ।

– नेकपा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए सरकारले वातावरण बनाउने सरकारका एकजना मन्त्रीले बताएका छन् । तर, विप्लव समूहको खास माग के हो भन्नेमै सरकार अहिलेसम्म स्पष्ट हुन सकेको छैन । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं’ भनेपछि अब सरकारतिर सबैको नजर गएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*