Wednesday, March 3rd, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल– २०२१’ मा अनुष्मा रायमाझीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिका रूपमा रायमाझीलाई पठाउन लागेको हो। रायमाझी ‘मिस इको इन्टरनेसनल नेपाल–२०२०’ की विजेता हुन्। उनी १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन्। ६० बढी देशका इको सुन्दरीको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन्।

– नेपाली चलचित्रका चकलेटी नायक पल शाहले आज आफ्नो ३० औं जन्मदिन मनाए । सन् १९९० फेब्रुअरी २२ तारिखमा दाङमा जन्मिएका पलले ३० औं जन्मदिन चितवनमा पुगेर मनाए । चितवनमा आजबाट नै संचालनमा आएको एक आश्रमको पलले उद्घाटन गरे । पलले यो आश्रममा निर्माण भएका २ टहरा आफैले बनाएका हुन् । पलका अनुसार, एक महिना अगाडिबाट नै जन्मदिनमा आश्रमको उद्घाटन गर्ने योजना बनेको हो । बृद्धबृद्धा र बालबालिकासँग जन्मदिन मनाउन पाउँदा अत्यन्त खुशी भएको पलले सुनाए ।

– हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको ‘सक्किगोनी २’ले दर्शकको साथ पाएको भन्दै यसको निर्माणटिम उत्साहित देखिएको छ । यो सिरियलको दोश्रो सिजन ११ भाग प्रशारण भैसकेको छ । दर्शकले दोश्रो सिजनमा पहिलो सिजन भन्दा केही फरक कथा र सामाजिक सन्देश पनि पाइरहेका छन् । सिरियललाई टेलिभिजनसँग युटुबमा हेर्ने दर्शकको संख्या पनि बढेको यसका निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।

– लकडाउन सकिएलगतै निर्माणको घोषणा भएको चलचित्र ‘प्रसाद २’को छायांकन अझै सुरु भएको छैन । दिनेश राउतको निर्देशनमा व्यवसायिक र समिक्षागत रुपमा नै हिट मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो । यो चलचित्रमा ‘प्रसाद’कै कलाकारहरु नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठले काम गर्ने पक्का भैसकेको थियो । अब, चलचित्रका लागि कलाकार निश्चल बस्नेत पनि फाइनल भएका छन् । निश्चल चलचित्र ‘प्रसाद’मा खलपात्रको रुपमा देखिएका थिए ।

– गायक रोमन प्रकाश र गायिका रचना रिमालको स्वरमा समावेश ‘यो विछोड हो कि माया’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । यो गीतका गायक रोमन प्रकाशको स्वरको तारिफ भैरहेको छ । रोमनले हालसम्म संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् । तर, सानैबाट रेडियोमा गीत सुनेर र टीभीमा हेरेर उनले संगीत सिकेका थिए ।

– नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र ‘तिम्रो मेरो साथ’मा काम गरिन् । चलचित्र ‘रातो टिका निधारमा’ असफल भएपछि साम्राज्ञीले नयाँ चलचित्रमा काम गरेकी थिइनन् । चलचित्र ‘तिम्रो मेरो साथ’ साइन गर्नु अगाडि नै साम्राज्ञीले २ चलचित्र साइन गरेकी थिइन् । उनले प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्र र मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र साइन गरिसकेकी थिइन् । तर, यतिबेला भने दुई चलचित्र नै कहिले बन्छन् भन्ने पत्तो छैन । किनकी, प्रवेश पौडेल नयाँ चलचित्र ‘बिहे पास’को छायांकन गर्ने तयारीमा छिन् । यसैले पनि प्रवेशले साम्राज्ञीसँगको चलचित्र कहिलेबाट सुरु गर्छन् पत्तो छैन ।

– चलचित्र ‘चुरिफुरी’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई आरबी मुभिजको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा रविन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजबीजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल लगायतका कलाकारको अभिनय छ ।

– चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कालिञ्चोकका रमणिय स्थानमा चलचित्रमा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ । यो चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

– नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन । साहरुखको ब्यानर रेड चिल्ली इन्टरटेन्मेन्टबाट बन्न लागेको नयाँ चलचित्र ‘डार्लिग्स’मा नायिका भट्टले काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, चलचित्रको कथा आमा र छोरीको वरिपरी घुम्छ । यो चलचित्रलाई जसमित के रेने बतौरले निर्देशन गर्दैछिन् । चलचित्रमा आलियाको साथमा सेफाली शाह, विजय वर्मा, रोशन मैथ्यू लगायतका कलाकारको अभिनय रहनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*