Wednesday, March 3rd, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

– प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बतायो । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिए ।

– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताए ।

– संघीय संसद् सचिवालयले सांसदहरुलाई कानुन विपरीत बैठक भत्ता दिएको पाइएको छ । संसद् भंग भएपछि राष्ट्रिय सभा र निवर्तमान सांसदहरुको दबाबमा बैठक भत्ताबापत ३८ लाखभन्दा बढी रकम वितरण गरेको हो ।

– सरकारले तीन महिनाअघि ल्याइएको नयाँ परराष्ट्र नीतिको समीक्षा गर्न थालेको छ । सम्बन्धित निकायसँग पर्याप्त छलफल नगरी सरकारले हतारमा परराष्ट्र नीति जारी गरेको भन्दै आलोचना भएकाले समीक्षासहित सुझाव संकलन थालिएको हो ।

– संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय परिवर्तन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बनाउन विभिन्न आयोगका आयुक्तहरुले माग गरेका छन् । सोमबार मुस्लिम आयोगले विभिन्न आयोगमा नियुक्त भएका प्रमुख आयुक्त तथा आयुक्तहरुसँगको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा सम्पर्क मन्त्रालय परिवर्तन गरेर प्रधानमन्त्री कार्यालय बनाउन माग गरेका हुन् ।

– निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो ।

– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ ।

– स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् । गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताए । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

– विभाजन उन्मख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखामा समानान्तर समिति गठन भएका छन्। जिल्लास्तरमा तथा गाउँपालिकास्तरमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका अलग अलग समिति गठन भएका हुन्। पार्टी एकीकरणका बेला समायोजन भएर बनेका समितिका अध्यक्ष तथा सचिवहरु ‘यताउता’ भएपछि दुवै समूहले नेतृत्व फेरबदल गरेका हुन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*