Wednesday, March 3rd, 2021
सुचना प्रविधि

सुचना प्रविधि

– विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ । सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताहरुका अनुसार उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन । एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ ।

– अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे । अब चाहिँ युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउनेछन् ।

– परिवर्तित गोपनीयता सर्तका कारण आलोचित बनेको मेसेजिङ एप ह्वाट्सएपले सेवा सर्तमा गरिएको आफ्नो विवादास्पद परिवर्तनलाई अघि बढाउने भएको छ । तर यस विषयमा प्रयोगकर्तालाई सूचित गर्ने तरिकामा चाहिँ फरकपना ल्याउँदैछ । प्रयोगकर्तालाई एप प्रयोगका लागि डाटा शेयर गर्नुपर्ने सर्त मान्नैपर्ने नयाँ नीतिलाई बाध्यकारी बनाइएको घोषणा गत जनवरीमा ह्वाट्सएपले गरेको थियो । त्यसयता दशौँ लाख प्रयोगकर्ताले ह्वाट्सएप छाडेर अन्य प्रतिस्पर्धी मेसेजिङ एपहरु डाउनलोड गरिसकेका छन् ।

– सरकारले इन्टरनेटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान गर्ने भएको छ। यसका लागि सुरुको वर्ष एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएर प्रक्रिया अघि बढाउन लागिएको हो। इन्टरनेटका कारण समाजमा नकारात्मक असर परेको भन्दै सरकारले इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) छान्न सक्ने प्रणाली जडान गर्नुपरेको बताएको छ। तर, यो प्रणालीलाई चीन, उत्तर कोरिया, पाकिस्तान, रुस र हालै बर्मामा समेत राजनीतिक लाभका लागि प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन्।

– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन । अघिल्लो महिना ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएको घटना पश्चात् ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*