Wednesday, April 14th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

– विराटनगरमा आइतबार बिहान ट्याक्टरले किचेर सह–चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो ।

– काठमाडौंको महानगरपालिका वडा नं। २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ । जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

– सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपीले जानकारी दिए ।

– सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

– आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले कास्कीबाट एकजना युवतीलाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

– सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–२ कालागाडस्थित सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको सेतीमा डुबेर मृत्यु भएको हो ।

– सर्लाहीको हरिवनमा शनिबार बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ । हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसीरबाख्राको जलेर मृत्यु छ ।

– पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो ।

– कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

– बागलुङमा होली खेल्ने क्रममा भएको विवादमा दुईजनाको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय मिलन बुढा,२४ वर्षीय रेशम भनिने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झन बहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सुर्य बुढा र ४६ वर्षीय ढालबहादुर बुढा रहेका छन् ।

– प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने २३ वर्षीय सुमन धिमाल रहेका छन् । प्रहरीले उनको साथबाट फेनेर्गान २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल लागू औषधि बरामद गरेको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*