Wednesday, April 14th, 2021
विदेशमा आज

विदेशमा आज

– कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ । आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

– भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् ।

– इन्डोनेसियाको पूर्वी प्रान्तमा आइतबार बिहान आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीका अनुसार इन्डोनेसियाको फ्लोरेस टापुमा मुसलधारे वर्षापछि बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । बाढी पहिरोको कारण धेरै घर, सडक तथा पुलहरु बगाएका वा पुरिएका छन् । उद्धारकर्ता टोलीले विकट स्थानमा अझै टोली पुग्न नसकेको कारण मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । इन्डोनेसियामा अझै एक सातासम्म मौसममा सुधार आउने सम्भावना कम रहेको अधिकारीहरुले बताएका छन् ।

– अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएको छ । विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएपछि कम्तीमा तीन सय घरपरिवार प्रभावित भएका छन। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागू भएको सीएनएनले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

– कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा ७ दिनका लागि लकडाउन घोषणा गरिएको छ । अवामी लिगका महासचिव अबदुल कदेरका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेको छ । बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन हुने बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*