Wednesday, April 14th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

– वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो ।

– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।

– बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

– पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।

– बाराको पचरौता नगरपालिका–१ पिपरपातीमा आगलागी हुँदा ४ वटा घर जलेको छ । आगलागीबाट ७ लाख १० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय जय नारायण यादवको घरमा चुल्होबाट बाहिर थुपारुेको खरानीबाट अचानक आगो सल्किएको प्रहरीले बताएको छ ।

– प्रहरीले २५ ग्राम खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका-२ सुकुनाडिगीका २८ वर्षीय सञ्जय लामा रहेका छन् । प्रहरीले खानतलासी गर्दा लामाको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजु एकथान बरामद गरेको छ ।
– पानी तान्ने मेसिन चोरी गरेको भन्दै कुटपिट गर्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षकले जानकारी दिए। घाइते गुरुङको मृत्यु भएपछि कुटपिटमा संलग्न पाँचजनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

– गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*