Wednesday, April 14th, 2021
विदेशमा आज

विदेशमा आज

– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् ।

– इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार आएको बाढीपहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । कम्तीमा २७ जना बेपत्ता भएका छन् ।

– जोर्डनका राजकुमारमाथि आदिवासी नेताहरू परिचालित गरेर सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको छ । उपप्रधानमन्त्री आयमन सफरीले राजकुमार हम्जाह बिन हुसेनले ‘विदेशी शक्तिहरूसँग साँठगाँठ गरेर’ देशलाई अस्थिर बनाउन क्रियाशील रहेको आरोप लगाएका हुन् ।

– नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् । सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको जनाइएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएको जनाइएको छ ।

– भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई देशमुखले राजीनामा बुझाएका हुन् । केही समयअघि मात्र भ्रष्टाचारको मामिलामा मुछिएका देशमुखमाथि अनुसन्धान गर्न मुम्बई उच्च अदालतले सीबीआईलाई आदेश दिएको थियो ।

– दक्षिण कोरियाली कम्पनी एलजीले आफ्नो मोबाइल फोन युनिट बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले निरन्तर नोक्सानीमा रहेको व्यवसाय बन्द गर्ने जनाएको छ । यो निर्णयलाई कम्पनीको निर्देशन बोर्डले पनि अनुमति दिइसकेको छ । कम्पनीले मोबाइल व्यवसायबाट बाहिरिनु महत्वपूर्ण रणनीतिक निर्णय भएको बताएको छ । अब कम्पनीले आफ्नो ध्यान विद्युतीय कारको पार्टपूर्जा निर्माण, कनेक्टेड डिभाइस निर्माण, रोबोट, स्मार्ट होम सोलुसन्स र एआईमा केन्द्रित गर्नेछ ।

– बंगलादेशमा आइतबार ५० यात्रु बोकेको फेरी दुर्घटना भएको छ । राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्जस्थित शितालक्ष्य नदीमा मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुबेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*