Wednesday, April 14th, 2021

विदेशमा आज

– बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् ।

– न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाउने भएको हो ।

– म्यान्मारमा सैनिक ‘कु’ को विरोधमा गरिएका प्रदर्शनका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार गरिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर उनीहरुको ज्यान गएको हो ।

– फ्रान्सका कृषकहरुले आफ्नो बालीलाई अत्यधिक ठण्डीबाट बचाउन मैनबत्ती, धुनी र हेलिकप्टरको प्रयोग गरेका छन् । गत हप्ता २५ डिग्रीसम्म तापक्रम पुगेको फ्रान्समा आइतबारदेखि केहि क्षेत्रमा शून्यबाटपनि पाँच डिग्रीसम्म तापक्रम झरेपछि फलफूल र तरकारीलाई व्यापक क्षति पुगेको छ । एक्कासी हिउँ र बरफ परेर तापक्रम तल झरेपछि अंगुर खेती, बगैंचा र अन्य बालीनाली जोगाउन हेलिकप्टर र मैनबत्ती प्रयोग गरेका हुन् ।

– कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो ।

– भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत९सीईओ० आदर पूनावालाले भारत सरका समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।

– भारतीय कम्युनिस्ट पार्टी माओवादीले आफ्नो कब्जामा रहेका सुरक्षाकर्मीको रिहाइका लागि सरकारसँग वार्ताको प्रस्ताव गरेको छ । भाकपा माओवादीका दण्डकारण्य स्पेसल जोनल कमिटीका प्रवक्ता विकल्पका नाममा सार्वजनिक विज्ञप्तिमा सरकारसँग वार्ताको प्रस्ताव गरिएको छ ।

– ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन कम्तीमा ४ हजार जनाको ज्यान गएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ४ हजार १ सय ९५ जनाको मृत्यु भएको पुष्टि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो भाइरसका कारण ब्राजिलमा एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो ।

– दुबईमा न्यूड फोटोसुट गराएको आरोपमा प्रहरीले ११ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युक्रेनी महिलाहरु रहेको त्यहाँस्थित युक्रेनी वाणिज्य दूतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनी वाणिज्य दूतावासका अनुसार एक दर्जन महिलाहरु दुबईको मरिना इलाकाको बालकोनीमा न्यूड फोटोसुट गराइरहेका बेला उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

– इथियोपियामा अफार र सोमाली प्रान्तको विवादित भूमिको विषयलाई लिएर भएको झडपमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तका बासिन्दाबीच हिंसा भड्किएको हो ।

– बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ । म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका जनाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*