Sunday, May 16th, 2021
पाचन प्रणाली चुस्त राख्ने तरिका

पाचन प्रणाली चुस्त राख्ने तरिका

पाचन सम्बन्धि समस्या हिजोआज साधारण भईसकेको छ । युवा, वयस्क तथा बूढाहरु सबैको समस्या पाचनसम्बन्धि नै रहेको छ । वर्तमान जीवनशैलि र अनियमितखानपानले यस किसिमको समस्यामा वृद्धि गरिरहेको छ । वर्तमान समयमा मानिसहरु आफ्नो स्वास्थ्यलाई भन्दा आफ्नो कामलाई बढी ध्यान दिने गर्छन् । खानपान तथा जीवनशैलीमा ध्यान नदिदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । घण्टौ एकै ठाउँमा बसेर काम गर्दा, छिटो छिटो खाना खाँदा, जंक फुडको बढी सेवन, कम शारीरिक परिश्रम, तनाव र अपूरो निन्द्राका कारण प्रायः जसो व्यक्तिहरुको पाचन प्रणालीले राम्रो सँग काम गर्न छोड्छ । यसले गर्दा कब्जियत, खाना नपच्नु, ग्याष्टिक जस्ता समस्याले सताउँछ ।

स्वास्थ्यको लागि पाचनको आवश्यकता

राम्रो स्वास्थ्य राम्रो पाचन प्रणालीको देन हो । हामी जे खान्छौ, त्यसलाई सही रुपमा शरीरमा पु¥याउने काम हाम्रो पाचन प्रणालीले नै गर्छ । पाचन प्रणालीले खानालाई उर्जामा परिवर्तन गरी शरीरलाई पोषण र शक्ति प्रदान गर्छ र हाम्रो रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । पाचन प्रणाली गडबढ हुँदा हामी जे खान्छौ, त्यसलाई ठीक तरिकाले पचाउन सक्दैनौ । यसबाट शरीरले आवश्यक भिटामीन र मिनरल प्राप्त गर्न सक्दैन र हाम्रो शरीरमा हानिकारक तत्व बढ्न थाल्छ र हाम्रो इम्युन सिस्टमले बिस्तारै काम गर्न छोड्छ । यदि पाचन क्रिया ठीक छैन भने विभिन्न समस्याहरु देखा पर्छन् । कब्जियत पाचन प्रणालीको मुख्य विकार हो । यदि यो समस्या पुरानो हुँदै गयो भने अन्य विभिन्न समस्याहरु देखा पर्न थाल्छ । जस्तै अल्सर लीवर सम्बन्धि समस्या ग्याष्टिक आदि । यदि समयमै सावधान भयो भने यस्ता गंभीररोगहरुबाट बच्न सकिन्छ ।

उपयुक्त खानेकुराको सेवन

खानेकुरामा बढी भन्दा बढी फलफूल प्रयोग गर्नुपर्छ । यस्ता फलहरुमा मेवा, अनार आँप, अम्बक, नासपाती तथा सुन्तला सेवन गर्नु उपयुक्त हुन्छ । यि फलफूलमा फाइबर हुन्छ । जसले पेट सफा गर्ने काम गर्छ र पाचन प्रणालीलाई चुस्त राख्छ । हरियो साग सब्जी रायो, मेथी, पालुङ्गो, गोलभेडा तथा कागती पाचन प्रणालीका लागि सर्वोत्तम हुन्छ । यिनले कब्जियत जस्ता समस्यालाई जरैदेखि हटाउँछ र शरीरमा आवश्यक पोषक तत्वको भर्पाइ गर्छ । उमारेको चना, मुँग तथा गहुँ र जौको रोटी खाँदा पनि फाइदा हुन्छ । बढि भन्दा बढी पानी पीउनुपर्छ । पानी पिउँदा पेट सफा हुन्छ र कब्जियत जस्तो समस्याले दुःख दिदैन ।

व्यायाम वा योग गर्नुहोस्

नियमित रुपमा योग वा व्यायाम गर्नाले पनि पाचन सम्बन्धि समस्या टाढै बस्छ । केही समय हिड्नु पनि फाइदाजनक हुन्छ । सँधै खाना खाईसके पछि केहि बेर हिड्नु वा ५–१० मीनेटको लागि सुतेर विश्राम गर्नुपर्छ । राम्रो स्वास्थ्यका लागि खाना खाई सकेपछि ३, ४ मीनेटका लागि बज्रासनको मुद्रामा बस्नुपर्छ । बज्रासनले पाचनलाई चुस्त बनाउन निकै मद्दत गर्छ । बज्रासन गर्नका लागि मुश्लिमहरुले नमाज पढ्ने मुद्रामा घुँडा मारेर बस्नुहोस् । शरीरको भार पञ्जा, कुर्कुच्चा र खुट्टामा छोडनुपर्छ । नियमित रुपमा यसो गर्दा पाचन सम्बन्धि समस्या देखा पर्दैन ।

संतुलित जीवनयापन आवश्यक

संतुलित जीवनशैलीले पाचन प्रणालीमा हुने समस्यालाई टाढा भगाउँछ । एउटा रुटीन अनुसार काम गर्नुपर्छ र समयमै खाना खानुपर्छ । यदि कुर्सीमा बसेर काम गर्नुपर्छ भने २, २ घण्टामा केही मीनेटका लागि ब्रेक लिई यताउति हिड्नुपर्छ । राति अबेरसम्म नसुति बस्नु हुँदैन । कम्तिमा सात घण्टा सुत्नुपर्छ ।

घरेलु उपाय

खाना सजिलै पचाउन सलाद सेवन गर्नुहोस् । सलादको रुपमा गोलभेडा, बीरे नून र कागती सेवन गर्नु उपयुक्त हुन्छ । अपच हुँदा ज्वानो, जीरा र बीरे नून बराबर मात्रामा मिसाई एक चम्चा पानीसँग सेवन गर्दा फाइदा हुन्छ । ज्वानो पानीमा उमालेर पानी पीउँदा पनि पाचन क्रिया ठीक हुन्छ । अदुवाको टुक्रा कागतीको रसमा भिजाएर चुस्दा पनि पाचन क्रिया चुस्त हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*