Sunday, May 16th, 2021
सनग्लासेज स्टाइलीस र हेल्दी

सनग्लासेज स्टाइलीस र हेल्दी

गर्मी महिना सूर्यको चर्को घामले गर्दा घरबाहिर निस्कन नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । यदि घरबाट बाहिर अफिसको काम वा अन्य कामले निस्कनु परेको अवस्थामा चर्को घामले हाम्रो अनुहार, कपाल र आँखालाई प्रभाव पार्ने हुन्छ । आँखा हाम्रो अनुहारको एक कोमल अंग हो । यसलाई चर्को घामबाट बचाउनु आवश्यक छ नत्र भने सूर्यको किरणका प्रभावले आँखा सम्बन्धि अनेकौ समस्याहरु देखा पर्छन् । त्यसकारण आँखालाई सुरक्षित राख्नका लागि सनग्लासेज प्रयोग गर्नु उचित हुन्छ ।

गर्मी महिनामा सूर्यको अल्ट्राभायलेट किरण आँखाको लागि खतरनाक हुन्छ । आँखामा प्रत्यक्ष रुपमा सूर्यको किरण पर्दा त्यसले आँखामा अनेकौ समस्याहरु ल्याउँछ । केहि समस्याहरु समय बित्दै जाँदा देखा पर्छन् । कतिपय व्यक्तिहरुको घाममा बाहिर निस्केको केहि समय पछि आँखा चिलाउने हुन्छ, जसले गर्दा हामी आँखा माड्ने गर्छौ र आँखा पोल्ने घोच्ने हुन्छ । आँखा सुख्खा हुने समस्या पनि आउँछ । सूर्यको चर्को घामले यदि तुरुन्तै कुनै समस्या देखाएको छैन भने पनि उमेर बढ्रदै जाँदा यसले आखाँको रेटिनालाई प्रभावित बनाउँदै लैजान्छ । त्यसैले हाम्रो आँखालाई लामो समय स्वस्थ्य राखिरहनका लागि सनग्लासेज आवश्यक छ ।

सन ग्लासेजले आँखालाई स्वस्थ राख्ने मात्र नभएर हाम्रो व्यक्तित्वलाई पनि नयाँ आयाम दिन्छ । त्यसकारण सनग्लासेज किन्दा निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

अनुहारको आकार अनुसार सनग्लासेजको छनोट

सनग्लासेज किन्दा आफ्नो अनुहारको आकार अनुसार फ्रेमको छनोट गर्नुपर्छ । जसले अनुहारलाई नयाँ स्टाइल दिओस् । सनग्लासेज छनोट गर्दा गोलो अनुहारका लागि आयताकार तथा चौडा फ्रेमको छनोट गर्नुपर्छ । त्यस्तै अण्डाकार अनुहारका लागि वर्गाकार फ्रेम, चौडा अनुहारका लागि अण्डाकार फ्रेम र लाम्चो अनुहारका लागि कोणाकार फ्रेमको सनग्लासेज खरिद गर्नु राम्रो हुन्छ ।

व्यक्तित्वप्रति ध्यान दिनु

सनग्लासेज किन्दा आफ्नो उमेर तथा व्यवसाय अनुसार किन्नु राम्रो हुन्छ । जस्तोसुकै फेसन तथा स्टाइल आए पनि आफ्नो व्यक्तित्व अनुरुप नै सन ग्लासेजको प्रयोग गर्नुपर्छ ।

सनग्लासेजको मूल्य

महँगो सनग्लासेज सबैभन्दा राम्रो र गुणस्तरीय हुन्छन् भन्ने भ्रमलाई त्याग गरौ । यस्तो सनग्लासेज खरिद गरौ जसले पूर्णरुपमा आँखालाई सुरक्षा प्रदान गर्छ । सनग्लासेज खरिद गर्दा उचित मूल्यमा आफ्नो आवश्यकता पूरा हुने र आफ्नो व्यक्तित्व पनि आकर्षक देखिने खालको सनग्लासेज मूल्याकंन गरेर खरिद गर्नु राम्रो हुन्छ ।

सनग्लासेजको लेन्सको छनोट

सनग्लासेज किन्दा फ्रेमलाई मात्र होइन लेन्सलाई पनि ध्यान दिनु आवश्यक छ । सँधै रंगिन सनग्लासेजको छनौट गरौ । जसले हामीलाई राम्रो सुहाओस् । हाम्रो व्यक्तित्वमा निखारपन ल्याओस् । प्रायः जसो बजारमा मिरर तथा क्रोमोटिक लेन्स भएका सनग्लासेज पाइन्छ । मिरर लेन्सका कारण चश्मा लगाउने मान्छेले सबै देख्छन् तर अरुले लेन्स भित्र केहि देख्न सक्दै्रनन् भने क्रोमोटिक लेन्स घामको प्रकाश अनुरुप हलुका वा गाढा रंगको हुन्छ र यसले सूर्यको अल्ट्राभायलेट किरणलाई केहि सेकेन्डमा नै सोस्छ ।

सनग्लासेज खरिद गर्दा कमस्तरको खरिद नगरौ । कमस्तरका लेन्सले उल्टै आँखालाई प्रभाव पार्न सक्छ । त्यसकारण राम्रो परिक्षण गरेर मात्र सनग्लासेज खरिद गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*