Sunday, May 16th, 2021
विदेशमा आज

विदेशमा आज

– अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता ल्याउन औपचारिक प्रक्रिया अघि बढाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरिसकेका छन् ।

– पश्चिम बंगालको विधानसभा चुनावमा मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीले पार्टीलाई ठूलो जित दिलाए पनि आफै भने चुनाव हारेकी छिन् । नन्दिग्राम विधानसभा क्षेत्रको अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टीका सुवेन्दु अधिकारीले १९ सय ५६ मतले मुख्यमन्त्री बनर्जीलाई पराजित गरेका हुन् । अधिकारीले १ लाख १० हजार ७ सय ६४ मत प्राप्त गर्दा बनर्जीले १ लाख ८ हजार ८ सय ८ मत प्राप्त गरिन् ।

– स्पेस–एक्स ड्रागनमार्फत ४ जना अन्तरिक्षयात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटीनजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए ।

– सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अदर पुनावाला भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका छन् । भारतले बेलायतका लागि उडान प्रतिबन्ध जारी गर्नुअघि नै उनी शनिबार नै लण्डन पुगेका हुन् । पुनावालाले लण्डन पुगेर खोपका लागि आफूमाथि शक्तिशाली मानिसहरूको दबाब आएको प्रतिक्रिया दिएका थिए । तर भारतको संकटपूर्ण अवस्थालाई आफू एक्लैले केही गर्न नसक्ने पनि बताए ।

– उत्तर कोरियाले अमेरिकाले निकट भविष्यमा नियन्त्रण गर्नै नसक्ने संकटको सामना गर्नुपर्ने भन्दै चेतावनी दिएको छ । आइतबार श्रृंखलाबद्ध विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिए अनुसार अमेरिकाले निकट भविष्यमा डरलाग्दो र नियन्त्रण गर्नै नसकिने संकट सामना गर्नुपर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको १ सय दिन पूरा भएको सन्दर्भमा बिहीबार संसदलाई सम्बोधन गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको हो । बाइडेनले सम्बोधनको क्रममा उत्तर कोरियाको आणविक कार्यक्रमको आलोचना गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*