Sunday, May 16th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक २० मिनेटमा एक मात्र उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो । यसअनुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ ।

– कोरोना जोखिम कायमै रहँदा डोल्पाको पाटनमा यार्चा संकलन खुलाको निर्णय भएको छ । सर्वपक्षीय, सर्वदलीय निर्णयले जेठ १० बाट यार्चा टिप्न सबै पाटन खुलाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिले राखेको सर्वदलीय, सर्वपक्षीय बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर यार्चा संकलन गर्ने निर्णय गरेको छ ।

– आगामी ६ महिनाभित्र नागरिक एपमा ८० वटा सरकारी सेवा समावेश गर्ने गरी नागरिक एपको औपचारिक शुभारम्भ गरिएको छ । नेसनल आईसीटी डेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एप शुभारम्भ गरे । यसअघि परीक्षणका रूपमा (बेटा भर्सन) सार्वजनिक गरिएको थियो ।

– काठमाडौं महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्यान्डफिल साइटमा पुर्याउने गरेको थियो । सोमबार १३ वटा गाडी ल्यान्डफिल साइटमा पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुखका अनुसार व्यवसायिक क्षेत्रमा धेरै मात्रामा घटेको छ भने आवासीय क्षेत्रमा कमै मात्र घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।

– कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै ठाउँठाउँमा सरकारले गरेको निषेधाज्ञाका कारण देशभर निर्माणाधीन करिब साढे ६ हजार आयोजना रोकिएका छन् । यी आयोजनामध्ये निर्माणको अन्तिम चरणमा रहेका केहीको काम जारी रहे पनि प्रायस्को काम ठप्प छ । विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएसँगै प्रशासनले पासमा कडाइ गर्दा निर्माणको काम अघि बढाउन नसकिएको निर्माण व्यवसायीले बताएका छन् ।

– सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ । आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।

– कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ । अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

– बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षमा ध्यान दिन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ । कोरोनाको उच्च जोखिम देखिएको र सरकारले यसबाट बच्न निषेधाज्ञा जारी गरेको अवस्थामा कर्मचारीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गभर्नर अधिकारीको फियनले ध्यानाकर्षण गराएको हो ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा अहिले सरकारको प्राथमिकता रहेको बताएका छन् । उनले कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन समेत सबैलाई अनुरोध गरेका छन् । कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।

– नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय स्वरोजगार केन्द्रको स्थापना गरी प्रत्येक स्थानीय तहमा बेरोजगारको विवरण संकलन गरी रोजगारीमा समावेश गराउन सुझाएको छ। सेजनले प्रत्येक स्थानीय तहमा बेरोजगारको विवरण संकलन गरी आवश्यक तालिमको व्यवस्था गर्न, साना तथा मझौला, ठूला उद्योग तथा व्यवसाय, जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा छुट्ट्याउने विकास खर्चलाई रोजगारी सिर्जनासँग जोड्न सुझाएको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*