Sunday, May 16th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।

– शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएको छ ।

– नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनस् नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको पनि उल्लेख गरेका छन् ।

– कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बनेका थिए ।

– सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

– तीनवटै सुरक्षा निकायले ब्यारेक र कार्यालयमा अत्यावश्यक कामबाहेकका बाहिरी मानिससँग भेटघाट बन्द गरेका छन् । सुरक्षा निकायमा कार्यरत अधिकृत तथा जवानमा कोरोना संक्रमण देखिएपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यालय र ब्यारेकमा अत्यावश्यकबाहेक सबै भेटघाट र सम्पर्क स्थगित गरेका हुन् ।

– सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो । केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारीले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*