Sunday, May 16th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेकबहादुर अधिकारीलाई घटना भएको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो । संखुवासभाको चैनपुर नगरपालिका १० का ४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ गते चैनपुर ल्याएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टरले जानकारी दिए ।

– कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

– हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड र कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका दुई, कञ्चनपुरका एक र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको सूचना अधिकारीले जानकारी दिए ।

– कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ ।

– तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् । व्यास नगरपालिका-१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरकाले जानकारी दिनुभयो । यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका-६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका-६ मा रुद्री पूजाको प्रसाद खाँदा बालबालिकासहित २५ जना बिरामी भएका हुन् । शुक्रबारदेखि पेट दुख्ने, वान्ता हुने, सामान्य ज्वरो आउने समस्या देखिएको र बिरामी केही हिजो मात्रै अस्पताल भर्ना भएका छन् ।

– सुनसरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ । स्वास्थ्य कार्यालय सुनसरीका कोरोना फोकल पर्सनका अनुसार १९ गते साँझसम्म प्राप्त विवरण अनुसार जिल्लाको कुल सङ्क्रमित ५ सय नाघेको हो । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सङ्क्रमणका कारण जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले निधेषाज्ञामा कडाइ गर्ने सङ्केत दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीले आवश्यक्ता अनुरुप निषेधाज्ञा उपर पुनर्विचार गरिने बताए ।

– झापा मेचीनगर १५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । निलकोठी भन्ने ठाउँमा रहेको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा आज बिहान ३ बजेदेखि आगो सल्कन शुरु भएको प्रहरीले जानकारी दिएको छ । फ्याक्ट्री भित्र कोइला उत्पादनका कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधन समेत रहेकाले क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

– बिर्तामोडमा रहेको करोडौँ मूल्यको जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये नौ जनालाई झापा कारागार चलान गरिएको छ । घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडा अध्यक्षसहित ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

– गण्डकी प्रदेशमा आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो । आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जना अर्थात् झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*