Sunday, May 16th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– केही समय अगाडि बलिउड नायक आमिर खान कोरोना संक्रमित भएका थिए । तर, कोरोनाबाट मुक्त भएपछि उनी काममा फर्किएका छन् । आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा सुरु भएको छ । चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका हुन् । लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन् । चलचित्रमा आमिरसँग नायक विजय सेतुपतिले काम गर्ने चर्चा थियो । तर, विजयले चलचित्रमा काम नगरेपछि नाग चैतन्यले सो भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ ।

– राजधानीमा सम्पन्न एउटा अवार्ड समारोहमा फेसन, मोडलिङ अनि सुन्दरताको क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो। कार्यक्रममा सर्वोत्कृष्ट फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर अश्विनीकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशु कान्तझा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार थापे। यसैगरी हेयर स्टाइलिस्ट रीना अवाले, मेकअप आर्टिस्ट गीता पौडेल, र्याम्प मोडल एन्जल श्रेष्ठ, र्याम्प मोडल (बाल) जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्माले पुरस्कार जिते।

– युवा पुस्तामाझ लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने बिषयमा उनले केही पनि बताएका थिएनन् । उनको सो अभिब्यक्तिसँगै उनका फ्यानहरुले आफ्नै तरिकाले अड्कालबाजी काटेका थिए । तर, नितेशजंगले भने ‘एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ’ भनेर नेपाली सांगीतिक यात्रा छाड्नुपरेको बताएका छन् । उनले फेसबुकमा भिडियोमार्फत आफ्नो देशलाई विदेशमा पनि चिनाउनुपर्ने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफू आफ्नो तरिकाले काम गर्न थालेको उनले उल्लेख गरेका छन् ।

– बलिउड नायिका रिया चक्रवर्ती हैदराबादमा छिन् । उनी, हैदराबादमा रहनुको कारण, साउथ चलचित्रमा काम खोज्न हो । बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादको घेरामा रहिन् । सुशान्तको निधनमा रियाको हात रहेको भन्न्े खालका खबर सार्वजनिक भए । पछि यो बिषयमा ड्रग्सको मुद्दासँग जोडिएपछि रिया केही समय जेलमा समेत बसिन् । यसैले, उनलाई लिएर बलिउड चलचित्र बनाउन निर्माताले चाहेका छैनन् । रियाले अभिनय गरेको चलचित्र ‘चेहरे’को पोष्टरमा समेत उनको तस्वीर अटेन । यसबाट निराश बनेकी रिया साउथ चलचित्रमा काम खोजिरहेकी छिन् ।

– वैशाखको ६ गतेबाट छायांकन सुरु गरिएको चलचित्र ‘बाबरी’को काम रोकिएको छ । यो चलचित्रको काम आइतबार रोकिएको हो । निर्माणपक्षले भने पहिलो सेड्यूल सकिएको जानकारी दिएको छ । तर, चलचित्रको छायांकन भैरहेको झापामा समेत आइतबार राती १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी भएपछि यसको निर्माणपक्षले छायांकन रोकेको हो । छायांकन रोकेर यसको टिम काठमाण्डौ फर्किसकेको छ । नेपालमा छायांकन सकेर सिक्किममा चलचित्रको छायांकन सुरु गर्ने योजनामा यसको निर्माणपक्ष थियो । तर, सिक्किममा पनि अहिले छायांकन गर्ने अवस्था नभएको भन्दै निर्माणपक्षले काम स्थगित गरेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भैरहेको चलचित्रमा अदिती वुढाथोकी, धिरज मगर लगायका कलाकारको अभिनय छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*