Sunday, June 20th, 2021
विदेशमा आज

विदेशमा आज

– भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ करोड नाघेको हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख ८२ हजार ८ सय ३३ पुगेको छ ।

– रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–भी’ को माग अत्यधिक बढेपछि चीनमा उत्पादन गरिने भएको छ । केही दिनअघि चिनियाँ खोप उत्पादक कम्पनीहरूसँग २ करोड ६० लाख डोज खोप उत्पादन गर्नेबारे ३ वटा वटा सम्झौता भइसकेको पनि रुसले जनाएको छ । चीनबाट उत्पादित खोप खासगरी दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने जनाइएको छ । यी क्षेत्रका अधिकांश मुलुकले रुसी खोपको माग गरेका छन् ।

– बंगलादेशमा सोमबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले दिएको जानकारीअनुसार ३६ जना यात्रु बोकेको डुङ्गा शिबचार गाउँनजिकै कार्गो पानीजहाजसँग ठोक्किएको हो । प्रहरी अधिकारीका अनुसार अहिलेसम्म २६ शव निकालिएको छ । साथै पाँच जनाको उद्धार गरिएको छ । उनीहरुको अहिले उपचार भइरहेको छ ।

– इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसग विवाद सुल्झाउन ‘कुनै पनि सर्तमा’ वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैं तत्पर रहेको जनाए ।

– म्यानमारको विद्रोही समूह कचिन इन्डिपेन्डेन्स् आर्मी (केआईए)ले सोमबार हवाइ आक्रमण गरेर फर्किँदै गरेको सेनाको हेलिकप्टर खसालेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारमा सेनामाथि विद्रोही समूहको आक्रमण बढेसँगै सेनाले पनि हवाई आक्रमणलाई तीव्रता दिएको हो । केआईए समूहका अनुसार कचिन प्रान्तको मोइमौक सहर नजिकै सेनाको हेलिकप्टर खसालिएको हो ।

– अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोना विरुद्धको खोप दिन अनुमति दिने भएको छ । एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको जनाइएको छ । १२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शत प्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ ।

– माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गर्नुभएको छ । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका जनाइएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

– राजनीतिक पुनरावृत्तिको इतिहासलाई उल्ट्याउँदै केरलाको विधान सभा चुनावमा बाम गठबन्धन बाम प्रजातान्त्रिक मोर्चा(एलडीएफ)ले स्पष्ट बहुमतसहित भावी सरकारमा आफ्नो स्थान सुरक्षित बनाएको छ । हरेक ५ वर्षमा सत्ता परिवर्तन हुने राजनीतिक इतिहास बदल्दै विजयान नेतृत्वको सरकारले चुनाव जितेको हो । विश्लेषकहरू कोरोना भाइरस महामारीको एउटा घटनाले गर्दा एलडीएफले चामत्कारिक जित हासिल गरेको बताउँछन् ।

– भारतको पश्चिम बंगाल प्रदेशमा हालै सम्पन्न विधानसभाको मतपरिणाम लगत्तै राजनीतिक हिंसा भड्किएको छ। हिंसामा हालसम्म ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा आएकै दिन कोलकातास्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा विपक्षीले आगो लगाएको जनाइएको छ। त्यस्तै सोमबार दुई जना भाजपा कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको खबर प्राप्त भएको थियो। मंगलबारसम्ममा ९ जनाको हत्या भइसकेको भाजपा प्रदेश अध्यक्षले बताएका छन्।

– विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ। पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो। तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*