Sunday, May 16th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् । प्रदेश प्रमुख पनि अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको बताए । प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको प्रष्टीकरण दिए ।

– गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् ।

– कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।

– गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

– अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् ।

– प्रधानमन्त्री ओलीले काठमाडौंमा १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने समेत बताए।

– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । थप गरिएको निषेधाज्ञामा प्रशासनले थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी एवं फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने नियम बनाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रन्टलाइनमा खटिने कर्मचारीलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*