Thursday, July 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा चोकमा ट्याङकरले मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको हो ।

– सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

– भक्तपुरको जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

– अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

– चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका(५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो ।

– बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चोरी गरेको अभियोग लागेपछि शुुक्रबार उनीहरुलाई पक्राउ गरिएको हो ।

– धनुषामा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका( ९ स्थित बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

– कैलालीमा लागुुऔषधसहित एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–४ मा लागुुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले सोही ठाउँका २१ वर्षीय अर्जुुन साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*