Thursday, July 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

– सार्वजनिक गाडीमा तोकेभन्दा बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गाडी व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाण्डौ उपत्यकालगायत प्रदेशभित्र चल्ने गाडीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ताले जानकारी दिनुभयो ।

– सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् ।

– बेलका नगरपालिका-९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका-२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् ।

– कपिलवस्तुमा पेस्तोल र भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मातेश्वर प्रसाद यादवलाई एक थान पेस्तोल सहित पक्राउ गरेको हो । यस्तै बाणगंगा नगरपालिका–८ मोर्मीबाट ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा पक्राउ परेका हुन् ।

– तीनवटा राष्ट्रिय राजमार्गले छोएको मकवानपुर पछिल्लो समय लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट’ बन्न थालेको छ । जिल्लाभित्रै उत्पादन हुने गाँजा, अफिम र चरेससँगै भारतीय सीमाबाट मकवानपुर भित्रिने सिरिन्ज लगायत लागूऔषधको कारोबारले मकवानपुर लागूऔषधको ट्रान्जिट बनेको प्रहरीको आँकलन छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*