Thursday, July 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्दैछ । सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

– प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा गर्न सकस परेको छ । एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरूले आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बार्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा आफ्नो समूहबाट उपप्रधानमन्त्री पाउनुपर्ने दावी गरेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार महाराजगञ्जस्थित महामन्त्री डा। शशांक कोइराला निवासमा भएको पौडेल पक्षको बैठकमा नेताहरुले पार्टीभित्रको शक्ति सन्तुलनका लागि उपप्रधानमन्त्री आफ्नो समूहले पाउनुपर्ने धारणा राखेका थिए ।

– गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन ।

– सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार दर्ता गरेको पूरक निवेदनमा गत मङ्सिर ३० र गत वैशाख २१ गते सिफारिस भई नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गरिएको छ।

– सरकारले अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिएको छ।

– सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

– नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो ।

– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन्। प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा सोमबार उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*