Thursday, July 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

– वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य)को ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।

– उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् ।परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ देखि माथिका कक्षाहरु चलाउँदै आइरहेका कलेजहरुले भने कक्षा ११ र स्नातक तहमा भर्ना लिन थालेका छन् ।

– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।

– नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा बढी विवाद देखिएको हो । मकवानपुरको हेटौंडामा सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका अधिकांशले आफूलाई क्रियाशील सदस्यताबाट बन्चित गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले मादपण्ड अनुसार क्रियाशील सदस्यता लिन खोज्दा पनि आफूहरुलाई सदस्यता नदिइएको गुनासो गरेका हुन् ।

– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

– उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । यस्ता विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उनको भनाइ छ ।

– बीपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइँदै छ । उनले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई सर्वोपरी ठान्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने बीपीको शैलीलाई आत्मसाथ गरेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् ।

– प्रदेश २ का जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन नगरेको बताएका बताएका छन् । प्रदेश २ सरकारले विभिन्न समयमा समन्वय समिति पदाधिकारीलाई दिने भनिएको सेवा, सुविधा तथा भत्ता समेत उपलब्ध नगराएको उनीहरुको गुनासो छ । मंगलबार राजविराजमा बसेको जिल्ला समन्वय समिति महासंघको बैठकले तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग गरेको छ ।

– राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने उल्लेख गरेकी छन् ।

– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रकले जानकारी दिए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*