Tuesday, September 21st, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् ।

– क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।

– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

– कांग्रेसको १४औं महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना संक्रमणका कारण महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

– नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् । एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ ।

– नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् ।

– सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् । राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*