Tuesday, September 21st, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । यसैगरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुराका ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ । यस्तै, सदरमुकाम राजविराजमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ स्थित राजविराज–कुनौली सडक खण्डमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका ५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको मृत्यु भएको प्रहरीले जनाएको छ ।

– रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

– कञ्चनपुरमा श्रीमतीको नाममा मोबाइल पसल दर्ता गर्न नपाइने भन्दै २५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बजारस्थित गल्ली नम्बर ४ मा सञ्चालनमा रहेको साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवसँग रकम असुली गरेको आरोपमा नाइस टेलिभिजनका पत्रकार बताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार विहान एक किशोरी बलात्कृत भएकी छन् । साथीसँग मर्निङवाकमा रहेकी १६ वर्षकी किशोरी बलात्कृत भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षकले जानकारी दिए ।

– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा-१० घर भइ गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन् ।

– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् ।

– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय ९० रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*