Tuesday, September 21st, 2021
विदेशमा आज

विदेशमा आज

– अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

– उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ ।

– कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तानको राजधानी काबुल आइपुगेका छन् । उनले अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंदसँग भेटवार्ता पनि गरेका छन् ।

– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो ।

– भारतको सर्वोच्च अदालतले कोरोनाका कारण मृत्यु हुनेहरुको मृत्यु प्रमाणपत्रको लागि नयाँ प्रावधान जारी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)र स्वास्थ्य मन्त्रालयसँगको संयुक्त सहकार्यमा कोभिड १९ मृत्यु प्रमाणपत्रको लागि अदालतले नयाँ प्रावधान जारी गरेको हो । कोरोनासँग सम्बन्धित मृत्युको लागि अब भारतमा नयाँ निर्देशनअनुसार आधिकारीक रुपमा मृत्यु प्रमाणपत्र दिइने सर्वोच्च अदालतले जनाएको छ ।

– कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि श्रीलंकामा कडा लकडाउन गरिएको छ । तर लकडाउनका बीच मानिसहरु दैनिक उपभोग्य सामग्री खरिदका लागि घण्टौंसम्म लाइनमा छन् । सरकारी सुपरमार्केटका दराजका सामान सकिँदै गएका छन् । पाउडर दूध, गेडागुडी र चामलको सञ्चिति पनि निकै कम छ । सरकारले भने बजारमा कृत्रिम अभाव भएको बताएको छ र त्यसलाई अन्त्य गर्न आपतकाल घोषणा गरेको छ । त्यस्तै वैदेशिक मुद्रामा देखिएको संकटका बीच केन्द्रीय बैंकका प्रमुखलाई बर्खास्त गरिएको छ ।

– भारतको गुजरातमा भूपेन्द्र पटेल नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई सर्वसम्मतिमा संसदीय दलको नेता चुनिएको हो । केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमरले पत्रकार सम्मेलन गर्दै गुजरातको नयाँ मुख्यमन्त्री भएको जानकारी दिएका छन् । संसदीय दलको आइतबार बसेको बैठकमा मन्त्री तोमर पनि सहभागी भएका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*