Tuesday, September 21st, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रदेश १ सरकारले विराटनगर महानगरपालिका-३ मा मुख्यमन्त्री निवासका लागि घर भाडामा लिइएको छ । अरु मन्त्रीका लागि पनि विराटनगरभित्रै क्वाटरको व्यवस्था गरिएको छ । तर प्रदेशका मन्त्री र मुख्यमन्त्री सरकारी क्वाटरमा बस्दैनन् । घरबाटै कार्यालय आउँछन् । गत भदौं १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्य इनरुवामा घर छ । घरबाट कार्यालय आउने उनी काम बढी भएको समयमा राष्ट्र बैंकको विराटनगरस्थित गेष्ट हाउसमा बस्छन् ।

– अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसद्बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जाने बताएको छ । नेपालको चारदिने भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संसद्बाट अनुमोदन अत्यन्त जरुरी रहेको बताएकी हुन् ।

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एकजना केन्द्रीय सदस्यले बताए ।

– प्रतिनिधिसभा बैठकमा पछिल्ला दिन जे–जस्ता दृश्य देखिएका छन्, यी वर्तमान राजनीतिक परिस्थितिका उपज मात्रै होइनन् । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीचको तिक्ततापूर्ण सम्बन्धको असर पनि अहिले संसद्मा देखिएको छ । बुधबार र शुक्रबार एमालेको अवरोधकै बीच बैठक सञ्चालन गरेका सभामुख सापकोटाले आइतबार भने अवरोध अवलोकन गर्दै बैठक भदौ २९ सम्मका लागि स्थगित गरेका छन् ।

– सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने ओलीको भनाइ थियो ।

– राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्बाट फिर्ता नभएकाले मन्त्रिपरिषद् विस्तारमा उल्झन देखिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा जनता समाजवादी पार्टी ९जसपा० ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्यादेश फिर्ता लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको हो ।

– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी प्राध्यापक नरहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेरै डा। गिरी प्राध्यापक नरहेको जनाएको हो ।

– संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद मिलाउन आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

– सरकारले लगाएको प्रतिबन्ध फुकुवासँगै खुल्ला राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जनता रिझाउने प्रयास गरेको छ। ग्रामीण भेगलाई लक्षित गरी नेकपाले पार्टीको कार्यदिशा अनुसार कम्युनिष्ट समाज निर्माणका लागि जनता रिझाउने गरी कार्यक्रम अघि सारेको हो। अभियानमा जनता र पार्टीलाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम, जेष्ठ कम्युनिष्ट नेता सम्मान तथा भत्ता, बासस्थलको व्यवस्थापन जस्ता कार्यक्रम रहेको जिल्ला इन्र्चाज विवेक कुमालले बताए।

– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाटै सचिव राख्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा प्रदेशस्थित स्वास्थ कार्यालयका प्रमुखहरुले ध्यानाकर्षण गरेका छन् । उनीहरुले प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, आन्तरिक मामिला तथा कानून मन्त्री अजयक्रान्ति शाह र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*