Tuesday, September 21st, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् । उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका डिप्रेशनको शिकार बनेकी थिइन् । पछि, नायक रणवीर सिंहसँग भेट भएपछि दीपिका विस्तारै यो रोगबाट बाहिर निस्किएकी थिइन् ।

– निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचारवाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । सुदर्शनको इन्गेजमेन्टमा उनको नजिकको साथी पूजा शर्मा उपस्थित नहुँदा चलचित्र वृत्तदेखि दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । अब, सुदर्शन र पूजाविचको सहकार्य जारी रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे । तर, नायिका पूजा शर्माले भने सुदर्शनले बिहे गर्दैमा एकसाथ कामै गर्दैनन् कि भनेर नसोच्न सबैसँग आग्रह गरेकी छिन् ।

– नायक सरोज खनालले ‘जीवनको पाना’ बोलको गीत शनिबार सार्वजनिक गरे । यो गीतमा मदनकृष्ण श्रेष्ठको स्वर छ । भिडियोमा सरोजले अभिनय गरेका छन् । यो गीतको भिडियोमा सरोजले अघिल्ला पुस्ताका कलाकारलाई अहिलेका निर्देशकले कलाकार नै होइनन् भन्ने गरेको बिषय समेत उठाएका छन् । यो बिषयमा सरोजले मिडिया कुराकानीमा अहिलेका नयाँ निर्देशकहरुले राजेश हमाल, भूवन केसी लगायतका नायकहरुलाई नायक हुन् र भनेर प्रश्न गरेका छन् । त्यसैको लागि यो गीत मेरो जवाफ हो र म भन्दा सिनियर कलाकारको नाम लिनु मलाई भन्नु बराबर भएको बताएका छन् ।

– गायक प्रमोद निर्वाणले २ दशक अगाडि तयार पारेको गीत हो, ‘किन यसरी विना अर्थले’ । आफूलाई धोका दिएकी प्रेमिकाको यादमा प्रमोदले यो गीत तयार पारेका थिए । यो गीतले सो समयमा हंगामा नै मच्चाएको थियो । उनै, प्रमोदसँग सहकार्य गर्दै बले इन्टरटेन्मेन्टले यो गीतको रिमेक गरेको छ । रिमेक गीतको भिडियो सार्वजनिक भएसँगै एकपटक फेरि वियोगान्त यो गीत दर्शकको मस्तिष्कमा घुम्न थालेको छ । भिडियोमा सागर लम्साल र शिक्षा संग्रौलाविचको प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा कुशल श्रेष्ठ र संजिता पाण्डेलाई सहयोगी कलाकारको रुपमा हेर्न सकिन्छ ।

– दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ । यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

– गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ । स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ । २ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*