Tuesday, September 21st, 2021
विदेशमा आज

विदेशमा आज

– संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउने भएको छ । राष्ट्रसंघले सोमबार त्यसका सहयोग सम्मेलन आयोजना गरेको छ । अफगानिस्तानलाई तालिबानले आफ्नो नियन्त्रणमा लिएसँगै अब त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने यूएनको आशंका छ ।

– युरोपेली देश नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किनेका छन् । जलवायु परिवर्तनको असर र ऊर्जा सङ्कट कम गर्न विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन आह्वान भइरहेका बेला सन् २०२० मा नर्वेका झन्डै ७५ प्रतिशत नयाँ ग्राहकले नवीकरणीय ऊर्जा प्रयोग हुने गाडी प्रयोग गरेका दिगो विकास बारेमा वकालत गरिरहेको वीफोरमले जनाएको छ ।

– न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् ।

– सीमामा जारी तनावका बीच भारतीय सेनाले रुस, चीन र पाकिस्तानी सेनासँग हातेमालो गर्ने तयारी थालेको छ । साङघाई सहयोग संगठन शान्ति मिसन अन्तर्गत आयोजित रोधी सैन्य अभ्यासको लागि भारतीय सेनाले रुस, चीन र पाकिस्तानी सेनासँग हातेमालो गर्ने तयारी थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

– अफगानिस्तानमा तालिबानले कब्जा जमाएको करिब २८ दिनपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पहिलो पटक विमान अवतरण भएको छ । अगष्ट १५ मा तालिबानले काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि काबुल विमानस्थलमा अफगान र अन्य विदेशी नागरिक निकासीको लागि मात्र विमान सञ्चालनलाई अनुमति दिइएको थियो ।

– सत्ताबाट हटाइएकी म्यानमारकी नेत्री आङ सान सूकी अदालतमा अनुपस्थित भएकी छन् । स्वास्थ्य खराबीको कारण देखाउँदै उनी अदालतमा उपस्थित हुन नसकेको सूकी निकट स्रोतले जनाएको छ । हिरासतमा रहेकी उनलाई सामेबार अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।

– स्पेनको एन्डालुजिया क्षेत्रमा फैलिएको डढेलोका कारण २ हजारभन्दा बढी स्थानीय वासिन्दाले घर छोडेका छन् । एन्डालुजिया क्षेत्रको इस्टेपोना शहरनजिकैका करिब २ हजार ५ सय मानिसको उद्धार गरिएको दी गार्जियनले जनाएको छ । डढेलोबाट निस्केको धुवाँको कारण एक उद्धारकर्मीको निधन भएको छ । गत बुधबारदेखि फैलिएको डढेलो सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

– हाल जेरुसेलमको जेलमा ४ हजार भन्दा बढी प्यालेस्टेनी कैदीहरु रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । विभिन्न अभियोगमा बालबालिकासहित सो संख्यामा प्यालेस्टेनी कैदीहरु इजरायलका विभिन्न जेलमा रहेका हुन् । सेप्टेम्बर ६ मा ४ किलोमिटर लामो सुरुङ खनेर प्यालेस्टेनीहरु इजरायलको गिलवोवा जेलबाट भागेपछि इजरायली जेलमा बन्दी बनेका प्यालेस्टेनी कति हुन सक्छन् भन्नेबारे अधिकांशको चासोको विषय बनेको थियो ।

– सोमालियामा एक महिलाले राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारी दिएकी छन् । परम्परागत रुढिवादी मान्यतालाई तोड्दै पहिलो विदेशमन्त्री र उपप्रधानमन्त्री बनेकी सोमालियाकी फोजिया युसुफ एच आदम राष्ट्रपतीय चुनावको उम्मेदवारी दिएकी हुन् ।

– मलेसियाका नयाँ नेताले विपक्षी दलको समर्थन पाएका छन् । लामो समयपछि संसद पुन रुपमा सुचारु भएसँगै सोमबार उनले विपक्षी दलको समर्थन जितेका हुन् । मलेसियाका नयाँ प्रधानमन्त्री इजमेली साब्री याकुवले मलेसियाका राजा अनवार इब्राहिम अनवरको नेतृत्वमा रहेको मुख्य विपक्षी दलको समर्थन पाएका हुन् ।

– भारतको उत्तर प्रदेशमा सेप्टेम्बर महिनाको सुरुवातदेखि फैलिएको डेङ्गुका कारण दर्जनौँको मृत्यु भएको छ । डेङ्गुका कारण उत्तर प्रदेशको फिरोजावाद जिल्लामा १० दिनभित्रमा बालबालिकासहित ५८ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*