Tuesday, September 21st, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारले उपभोक्ता समितिले काम गर्न पाउने रकमको सीमा एक करोडबाट बढाउने तयारी गरेपछि विरोध सुरु भएको छ । उपभोक्ता समितिलाई काम दिने नाममा ठूला रकमको ठेक्कामा समेत प्रतिस्पर्धा नै नहुने अवस्था बनाउन लागिएको निर्माण व्यवसायीहरुको आरोप छ ।

– काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ । पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रुपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब असोज १ गतेदेखि सार्क मुलुक र तेस्रो देशका नागरिकले संग्रहालय प्रवेशका लागि अतिरिक्त तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

– विगतका वर्षझैं यसपटक पनि रासायनिक मल आपूर्तिमा समस्या देखिएको छ । धान रोपाइँका बेला अभाव झेलेका किसानले गहुँ र तरकारी बालीमा पनि अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग युरिया, डीएपी र पोटास गरी ६ हजार ६ सय ६५ टन मल मात्र मौज्दात छ । उक्त परिमाण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको हो । मौज्दात परिमाणले एक सातालाई पनि धान्दैन ।

– नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो । नेपाल टेलिकमका प्रवन्ध निर्देशकले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सोव सुरु गर्ने जानकारी दिए ।

– सरकारले बजेटमार्फत फलामे डन्डीमा भन्सार तथा अन्तःशुल्क बढाएपछि उद्योगीहरूले यसको बिक्रीवितरण रोकेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल स्टिल रोलिङ मिल एसोसिएसन सम्बद्ध केही उद्योगी व्यवसायीले फलामे छड तथा डन्डी बिक्रीवितरण हाललाई रोकिएको जनाएका हुन् ।

– सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए ।

– सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको छ। महाधिवेशन प्रतिनिधि चयनमा धांधली भएको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले निर्वाचन रोक्न संघलाई पत्राचार गरेको हो।

– नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएको वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ ।

– मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटडेले आकर्षक ब्याजदर सहितको ‘रिकरिङ डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘रिकरिङ डिपोजिट’ खातामा रकम जम्मा गर्नेहरुलाई ८.०५ प्रतिशत ब्याजदर दिने भएको हो । बैंकमा मुद्दति खातामा राखेको रकम निकाल्न निश्चित समयावधी पुग्नुपर्छ । तर ‘रिकरिङ डिपोजिट’ को विषेशता भनेको मुद्दति खाता जस्तै ब्याजदर पाइने भएपनि बचत खातामा जस्तै चाहेको बेला रकम निकाल्न सकिने बैंकले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*